कञ्चनपुरमा क्रिकेट मैदान

कञ्चनपुर । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माण अघि बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेको थियो ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले रू ५० लाख बजेट विनियोजन गरेपछि मैदानमा निर्माण अघि बढेको जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए । ‘यसअघि पहिलो चरणमा माटो भरान र ‘चेञ्जिङ रुम’ निर्माण गरिएको थियो’, उनले भने ।
कर्भडहलभित्र क्रिकेट मैदान निर्माण हुने स्थलमा खेलकुद विकास समितिले माछा पोखरीका लागि भाडामा दिएकाले उक्त पोखरीमा माटो भर्ने काम भइरहेको अध्यक्ष चन्दले बताए । कभर्डहल निर्माणका क्रममा योजनाभन्दा बाहिर गएर धेरै संरचना बनेकाले क्रिकेट मैदान बनाउन समस्या भइरहेको उनले बताए । उनले अहिले पनि राष्ट्रिय टोलीमा कञ्चनपुरका दुईजना खेलाडी रहेको बताउँदै यहाँ क्रिकेट खेलाडीका लागि मैदान आवश्यक रहेकाले क्रिकेट मैदान समयमा नै निर्माण गर्नुपर्नेमा जोड दिए ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले क्रिकेट मैदान निर्माणको काम अघि बढेको बताए । यहाँ क्रिकेटका लागि मैदानका साथै अन्य भौतिक संरचना बनाउने योजना रहेपनि प्राथमिकताका साथ काम अघि बढ्न नसकेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । गतवर्ष मैदान निर्माणका लागि आएको रू ७५ लाख रकम फ्रिज भएको थियो ।

प्रतिक्रिया