बुधबार, वैशाख १७, २०८२

पर्यटक बोलाउने ‘हनी हन्टिङ’

नेपालखोज २०८० जेठ ३० गते ८:३९

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको भीरमौरीको मह काढ्ने (हनी हन्टिङ) कार्यक्रम आगामी वर्षका लागि पर्यटकीय डाक्दै सकिएको छ । माछापुच्छ्रे गाउँपालिकाको सहयोग र सिदिङ युनाइटेड क्लबको संयोजनमा आइतबार र सोमबार दुई दिन ‘हनी हन्टिङ’ भएको थियो । माछापुच्छ्रे–९ स्थित मर्दी खोलाको किनार कोप्रे भीरमा ‘हनी हन्टिङ’ चलेको हो । पर्यटन प्रवर्द्धनका लागि वडा कार्यालयको सहयोगमा मह काढिएको कार्यक्रम संयोजक अमृत तामाङले बताए ।

अघिल्ला वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को अनुमतिमा मात्रै निकाल्ने भए पनि यही वर्षदेखि वडा कार्यालयले अगुवाइ गरेको हो । गाउँपालिकाले अगुवाइ लिएपछिको पहिलो कार्यक्रम भएकाले यो वर्ष पर्यटक नपुगेको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले बताए ।

यो पटकको ‘हनी हन्टिङ’ आगामी वर्षका लागि पर्यटक बोलाउने बाटो भएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । अर्को वर्षदेखि यसलाई अझ बृहत् बनाउने लक्ष्य छ । मह काढ्ने मुख्य जिम्मेवारी स्थानीयवासी ६६ वर्षीय उमानाथ गौतमले गरेका थिए । गौतमले करिब ३५ वर्षदेखि मह निकाल्ने काम गर्दै आएका छन् ।

अहिले उनलाई ३६ वर्षीय उनकै छोरा चिमलाल गौतम लगायत पाँच जनाले साथ दिएका थिए । एक वर्षमा दुई पटक भीर मौरीको शिकार गर्न सकिने मह शिकारी (भिरौटे) उमानाथ गौतमले जानकारी दिए । जेठ/असार र असोज÷कात्तिकमा दुवै मौसममा भीर मौरीको सिकार गरी पयर्टकलाई देखाउन पाए पर्यटन क्षेत्र उकासिने भिरौटे गौतमको भनाइ थियो । ‘हनि हन्टिङ’ निकै चुनौती र जोखिमपूर्ण रहेको भिरौटे गौतमले सुनाए ।

पोखरादेखि करिब २५ किलोमिटर दूरी पार गरी भीरमौरीको मह काढेको हेर्न पाइने भएकाले पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले अभियान सुरु गरेको वडाध्यक्ष क्षेत्रीले बताए । उक्त वडाको अग्ला भीरहरूमा प्रशस्त मौरीका घार पाइन्छन् । यहाँका पहरामा पाइने मौरीको संरक्षणका साथै उचित तरिकाबाट मह सिकार गर्दा स्थानीयवासीको आम्दानी बढ्नुका साथै मह सिकारले स्वदेशी तथा विदेशी पर्यटकको मन पनि लोभ्याउने स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया