सोमबार, वैशाख १७, २०८१

‘प्रधानमन्त्री मोदीको राजकीय भ्रमण महत्त्वपूर्ण हुनेछ’

नेपालखोज २०८० जेठ ३० गते १८:३९

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी महिना हुने अमेरिकाको राजकीय भ्रमणले संयुक्त राज्य अमेरिका र भारतका जनताबीचको मैत्रीलाई अझ गाढा बनाउने र त्यो वास्तवमै महत्त्वपूर्ण हुने एक जना अमेरिकी कूटनीतिकज्ञले बताएका छन् ।

अमेरिका–भारत व्यापार परिषद्ले वासिङ्टन डिसीमा आयोजना गरेको एक कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्रीको भावी भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका र भारतबीचको सम्बन्धलाई पारस्परिक साझेदारी अभिवृद्धि गर्न वास्तवमै महत्वपूर्ण हुने बताए ।

मोदीको अमेरिका भ्रमण दुवै देशका जनताबीचको सम्बन्धको प्रतिविम्ब भएको उनले बताए । अमेरिका र भारतबीचको साझेदारी लचिलो बनेको तथा पारस्परिक सम्बन्धमा धेरै परिवर्तन आएको उनले उल्लेख गरे ।

‘हामी एकअर्कामा विश्वास गर्छौँ, हाम्रा साझा मूल्य–मान्यता छन्, यो राजकीय भ्रमणले दुवै देशका साझा मूल्यप्रतिको समान धारणा प्रष्ट हुन्छ, एक अर्ब ८० करोड जनसङ्ख्या भएका लोकतान्त्रिक देश अमेरिका र भारत आपसी सहयोग बढाउँदै विश्वका निम्ति पनि केही गर्न चाहन्छन्,’ परिषद्का अध्यक्षसमेत रहेका उनले भने ।

प्रतिक्रिया