शुक्रबार, जेठ ११, २०८१

गण्डकी प्रदेशमा कोरोनाका कारण १२ जनाको मृत्यु

नेपालखोज २०७७ भदौ १३ गते १३:५८

कास्की । कोरोना भाइरस संक्रमणबाट पोखरामा आज थप एक जनाको ज्यान गएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियूमा उपचाररत् पोखरा १४ का ५८ वर्षीय पुरूषको ज्यान गएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए ।

मृतक पुरूषको पेटमा आन्द्रा बटारिएका कारण उनको भदौ ७ गते भर्ना भएकै दिन आकस्मिक रूपमा पेटको अपरेसन गरिएको थियो । अपरेसनपश्चात उनको स्वाब परीक्षण गर्दा भदौ १० गते कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमण देखिएपछि उनलाई सोही दिन कोभिड–१९ उपचार केन्द्रको आइसियूमा राखेर उपचार गरिएको डा. आचार्यले बताए । यससँगै गण्डकी प्रदेशमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७७ पुगेको छ । जसमा आज मात्रै २१ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया