आइतबार, जेठ ६, २०८१

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० सम्पन्न

नेपालखोज २०८० जेठ ३० गते २२:४९

काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि सुरु गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आज सम्पन्न भएको छ । पन्ध्र दिन सञ्चालन भएको उक्त प्रदर्शनीमा यसपटक सबैभन्दा बढी छ सय नौ जना कलाकारका छ सय ९५ वटा चित्र (सिर्जना) समावेश गराइएको थियो ।

प्रदर्शनी समापनका अवसरमा आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यसपटक अवलोकनकर्ताहरूको उल्लेख्य सहभागिताले आफूहरूलाई हौसला मिलेको र आगामी दिनमा अझै परिष्कृत र आधुनिकरूपमा सञ्चालन गर्दै अघि बढ्ने बताए ।

उनले ललितकला सम्मेलनको आयोजना गर्न लागिएकाले सम्मेलनको सुझावका आधारमा गुरुयोजना बनाएर ललितकला क्षेत्रको विकासमा आफू तल्लिन हुने जानकारी गराए । समापन समारोहमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का सद्भावना दूत अनिल चित्रकारले प्रदर्शनीले कला सिर्जनालाई निखारता दिन सहयोग गर्ने हुँदा यस्ता प्रदर्शनी नियमितरूपमा गरिरहनुपर्नेमा जोड दिए ।

उनले सिर्जना गरिरहे मात्रै कलामा निखारता आउनेमा भन्दै यसपालिको भन्दा अझै उत्कृष्ट सिर्जना गर्ने उद्देश्यका साथ कलामा दत्तचित्त हुन कलाकारहरूलाई आग्रह गरे । उक्त प्रदर्शनीको जेठ १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए।

यसपटकको प्रदर्शनी जेठ १५ गतेदेखि जेठ ३० गतेसम्म प्रतिष्ठानको कार्यालय नक्साल र नेपाल कला परिषद् बबरमहलमा गरिएको थियो । गत वर्षको प्रदर्शनीमा भने तीन सय ६५ कलाकारका चार सय २६ कलाकृति दर्ता भएकामा तीन सय ४१ कलाकारका तीन सय ८९ कलाकृति मात्रै प्रदर्शनीका लागि छनोट भएका थिए । यसपालि भने झण्डै दोब्बर कलाकृति समावेश गरिएको थियो । यसपालि ‘म, मेरो देश र मेरो सिर्जना’ मुख्य विषय राखेर प्रदर्शनी सुरु गरिएको थियो ।

यसवर्ष प्रदर्शनीका बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने पाँच जनालाई नगदसहित पुरस्कृत गरिनेछ भने विभिन्न तहमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरूबाट पहिलो, दोस्रो, तेस्रो र विशेष गरी आठ जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा यसपालि पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता, सांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, कलाकार, साहित्यकार समाजसेवीलगायतले अभिरुचिपूर्वक अवलोकन गरेका थिए । विभिन्न विद्यालयका विद्यार्थीसहित प्रदर्शनीमा ३५ हजारभन्दा बढीले अवलोकन गरेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले जानकारी दिए ।-rss

प्रतिक्रिया