आइतबार, वैशाख १६, २०८१

भारतले ट्वीटर बन्द गर्ने धम्की दिएकाे खुलासा

नेपालखोज २०८० जेठ ३१ गते १०:५५

नयाँ दिल्ली। भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलासा भएको छ। ट्वीटरका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलाएका हुन्। भारत सरकारले ट्वीटरमा काम गर्ने भारतीय नागरिकको घरमा समेत छापा मारेको उनले बताएका छन्।

भारत सरकारले किसान आन्दोलनसँग जोडिएका ट्वीट हटाउन दबाब दिएको उनले बताए। यस्तै, सरकार विरोधी पत्रकार तथा आलोचकहरुको ट्वीट सेन्सरका लागि पनि भारत सरकारले दबाब दिएको उनले बताएका छन् ।

डोर्सीको आरोप भारत सरकारले अस्वीकार गरेको छ। ‘उनको यो आरोप सरासर झुठो र मनगढन्ते छ। ट्वीटरका कुनै पनि कर्मचारीका घरमा छापा मारिएको वा उनीहरुलाई गिरफ्तार गरिएको छैन। ट्वीटरले बरु भारतीय कानुनको पालना समेत गरेन। उसलको भारतीय स्वाधिनताको सम्मान गरेन,’ संघीय मन्त्री राजिव चन्द्रशेखरले भनेका छन्।

ट्वीटरले भारतको कानुन उसलाई नलाग्ने तरिकाले प्रस्तुत भएको मन्त्री चन्द्रशेखरको आरोप छ। ट्वीटरले वाक स्वतन्त्रताको नाममा अप्ठ्यारो पारेको बहस धेरै मुलुकमा चलिरहेको अवस्थामा डोर्सीको यस्तो प्रतिक्रिया आएको हो। डोर्सीले सन् २०२१ ट्वीटर छोडेका थिए ।

डोर्सीले टर्की सरकारले समेत भारतकोझैँ दबाब ट्वीटरलाई दिएको बताएका थिए। ‘भारत र टर्कीले सरकारको आलोचना गर्ने पत्रकारका एकाउन्ट बन्द गर्न पटक-पटक दबाब दिएका थिए । भारतले पनि किसान आन्दोलनबारेका ट्वीट हटाउन र सेन्सर गर्न दबाब दियो। यसो नगरे भारतमा ट्वीटर बन्द गर्नेदेखि कर्मचारीको घरमा छापा मार्ने र ट्वीटरमाथि अन्य कारबाहीको धम्की दियाे र यो लोकतान्त्रिक मुलुकको भारतको ट्वीटरप्रतिको दबाब थियो,’ डोर्सीले भनेका छन्।

प्रतिक्रिया