आइतबार, जेठ ६, २०८१

चलचित्र भवनमा छैनन् दर्शक

नेपालखोज २०८० जेठ ३१ गते १४:०४

काठमाडौं । यस वर्षको सुरुआत नेपाली चलचित्रका लागि सुखद भयो । वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ को राम्रो व्यापार भयो ।

उक्त चलचित्र प्रदर्शनको ५१ दिन पार गर्दै रु १५ करोडको खुद व्यापार गर्न सफल भए पनि त्यसपछि प्रदर्शन भएका असफल भए । त्यसपछि हप्तामै दुई वा एक चलचित्र प्रदर्शन भइरहेका छन् । यद्यपि सफलता पाउने भने शून्य नै छन् ।

दर्शकलाई आकर्षण गर्न चलचित्र सफल नभएको हुन सक्ने निर्देशक तथा निर्माता अशोक शर्माले बताए । ‘निर्माण समूहप्रतिको विश्वास, ती चलचित्रको प्रचार सामग्री कारण हुन सक्छन’, उनले भने, ‘नेपालीसँगै अन्य भाषाका चलचित्रमा समेत दर्शकको उपस्थिति न्यून छ ।’ उनले चलचित्र ‘जारी’ ले नेपालभर राम्रो व्यापार गरेको जानकारी दिए ।

‘चलचित्रले नेपालभर नै राम्रो व्यापार गर्यो, सबै उमेर समूहका दर्शक चलचित्र भवनमा देखिनुभयो’, निर्देशक शर्माले भने । ‘जारी’ सँगै ‘बिहे पास’ र ‘बुलाकी’ तथा त्यसपछि वैशाख १५ मा ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’, वैशाख २१ मा ‘ज्याकीः आइएम ट्वान्टी वान’, वैशाख २९ मा ‘हल्कारा’, जेठ ५ मा ‘डाकिनी’ र ‘ए साथी सुन’, जेठ १२ मा ‘हुक्का’ र ‘टुल्की’, जेठ २९ मा ‘नीरफूल’ र ‘वेलकम टू हेम्जाकोट’ प्रदर्शन भए ।

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार ‘जारी’बाहेक अन्य चलचित्रको कुल व्यापार रु एक करोडभन्दा माथि भएको छैन । घरेलु बजारमा ‘जारी’ बाहेक अन्य असफल रहे । नेपाली चलचित्रको व्यापारलाई मन्दीले असर गरेको हुनसक्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए । ‘दर्शक चलचित्र भवनसम्म निकै सोचेर पुगेको देखिन्छ, यद्यपि आकर्षित गर्न सके चलचित्रको व्यापार हुन्छ भन्नेमा दुईमत छैन’ ।

उनले भने, ‘आउँदो भदौबाट हामी आशावादी छौं, त्यस अगाडी आउने चलचित्र कमजोर छैनन्, तर दर्शकको सोधपुछ भदौका चलचित्रमा बढी पाएका छौँ ।’

प्रतिक्रिया