महेन्द्रनगर बजारका सार्वजनिक शौचालय प्रयोगविहीन

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन छन् । भीमदत्त नगरपालिकाले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सार्वजनिक शौचालय प्रयोगमा आउन नसकेका हुन् । बजार क्षेत्रमा रहेका पाँच शौचालयमध्ये एउटा शौचालय मात्रै प्रयोग गरिएको अवस्थामा छ ।
अन्य प्रयोगविहीन छन् । बजारमा सार्वजनिक शौचालय सर्वसुलभ नहुँदा किनमेल तथा अन्य कामले बजार क्षेत्र आउजाउ गर्ने सर्वसाधारणलाई समस्या भएको छ । सार्वजनिक शौचालय प्रयोगमा ल्याउनेबारे नगरपालिकाले ध्यान दिन सकेको छैन । शौचालय व्यवस्थापनको जिम्मेवारी भीमदत्त नगरपालिकाको भए पनि यसतर्फ ध्यान नपुगेको स्थानीय एकेन्द्र भट्टले बताए ।
भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले कर्मचारी व्यवस्थापन गर्न नसक्दा शौचालय बन्द भएको बताए । पालिकाले व्यवस्थापन गर्न नसक्दा बजारका केही शौचालय व्यवसायीले नै सञ्चालन गरेको धामीले बताउनुभयो । बजार क्षेत्रमा शौचालय नहुँदा खुलारुपमा दिसापिसाब गर्नेको सङ्ख्या अत्यधिक छ । यसबाट बजार क्षेत्र दुर्गन्धित बनेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया