बिहीबार, जेठ ३, २०८१

मुख्यमन्त्री राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस फाइनल प्रवेश

नेपालखोज २०८० जेठ ३१ गते २२:४१

विराटनगर । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा दुई विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् ।

आज साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै एपिएफले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पुलिसले दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो । एपिएफले आर्मीलाई २५–१२, २५–१२ र २५–१९ को सेटमा जित निकालेको हो । पुलिसले बागमतीविरुद्ध २५–१९, २५–१७ र २५–१९ को सेटमा जित निकाल्यो ।

फाइनल प्रवेशसँगै एपिएफ र पुलिसले कम्तिमा १ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेका छन् । फाइनल खेल भोलि जेठ ३२ गते साँझ हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् । बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया