बिहीबार, जेठ ३, २०८१

भारतलाई स्तब्ध पार्ने सोचमा नेपाल

नेपालखोज २०८० जेठ ३२ गते ८:५८

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि२० प्रतियोगितामा आज भारत ए सँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान ११:१५ मा हङकङको मोंग कोकमा सुरु हुनेछ । नेपाल पहिलो र भारत लगातार दोस्रो जितको सोचमा हुनेछन् ।

पहिलो खेलमा पाकिस्तानविरुद्ध सानदार बलिङ प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेपाल पराजित भएको थियो । नेपालले आजको खेलमा ब्याटिङमा सुधारका साथ भारतलाई स्तब्ध पार्न चाहन्छ ।

नेपाल पाकिस्तान ए सँग ९ रनले पराजित भएको थियो । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सकेको थियो । उता भारतले पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

पाकिस्तानलाई ८७ रनमा अल आउट गर्न नेपालकी कविता कुँवरले लगातार योर्करका साथ दुई विकेट लिँदै सर्वाधिक २० रन जोडेकी थिइन् । इन्दु बर्माले तीन र सीता रानामगरले दुई विकेट लिएकी थिइन् ।

नेपाल पहिलो खेलमा जस्तै बलिङमा उत्कृष्ट प्रदर्शन चाहन्छ । तर नेपाली खेलाडीको फिटनेश प्रमुख समस्याको रुपमा छ । फिटनेशकै कारण नेपालले राम्रोसँग रन जोड्न सकेको थिएन । आजको खेलमा नेपालले डबल सिंगल रनमा ध्यान दिनुपर्ने हुन्छ ।

कप्तान रुविना क्षेत्री बेलबासे, सीता र इन्दु नेपालका प्रमुख ब्याटर हुन् । महत्वपूर्ण खेलमा प्रमुख खेलाडीको प्रदर्शन सधैं महत्वपूर्ण रहन्छ । यी तीन खेलाडीले राम्रो प्रदर्शन गरेमा नेपालले भारतलाई स्तब्ध पार्न सक्छ । नेपालले ब्याटिङ मजबुत बनाउन स्पिनर कृतिका मरासिनीको स्थानमा सरस्वती चौधरीलाई मौका दिनसक्छ ।

नेपाली टोलीले ब्याटिङक्रममा पनि सुधार गर्न आवश्यक देखिन्छ । ओपनर ज्योति पाण्डेलाई नेपालले आठौं नम्बरमा खेलाएको थियो । नेपालले ज्योतीलाई ओपनर वा शीर्षक्रममा खेलाउनु पर्ने हुन्छ । ज्योति केहि समय लिएर खेल्ने गर्दछिन् । नेपालको टोलीमा कविता जोशी हिटरको रुपमा छिन् । जोशी तर खुलेर खेल्न सकेकी छैनिन् ।

यता भारतीय टोलीमा १८ देखी २० वर्षसम्मका खेलाडी छन् । भारतीय सिनियर टोलीबाट खेलेका कुनैपनि खेलाडी छैनन् । सबै यू१९ का खेलाडी छन् । भारतले यसै वर्ष दक्षिण अफ्रिकामा सम्पन्न यू१९ विश्वकप विजेता टोलीकी सदस्य स्वेता श्रेवातलाई कप्तानीको जिम्मेवारी दिएको छ । उनी १९ वषएकी छिन् ।

गांन्गाडी तृषा, सौम्य तिवारी, तितास साधु, मानत काश्यप र पार्षवी चोपरा छन् । यी सबै भारतको यू१९ विश्वकप यसै वर्ष खेलेका थिए । भारतको ए टोली भनिएपनि सबै यू१९ का खेलाडी छन् ।

नेपाल त्यसको फाइदा उठाउन चाहन्छ । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले यस खेल जित्नै पर्ने हुन्छ । भारतीय ए टोली यू१९ सरह हुँदा नेपाली खेलाडीको मनोबल पनि उच्च छ ।

भारतीय टोलीमा कुनैपनि खेलाडी २० वर्ष माथिका छैनन् । त्यसको फाइदा उठाउँदै नेपाल भारतलाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।

प्रतिक्रिया