आइतबार, जेठ ६, २०८१

१० वर्षपछि नेपालका लागि अवसर

नेपालखोज २०८० कार्तिक १५ गते १४:४८

काठमाडाैं । १० वर्षअघि नेपालले पहिलो पटक टी–२० विश्वकपमा सहभागिता जनाएको थियो । बंगलादेशमा सन् २०१४ मा भएको विश्वकपमा नेपालले एसोसिएट्स राष्ट्र हङ्‍कङ र अफगानिस्तानलाई हराएर आयोजक बङ्गलादेशलाई १५ ओभरसम्म आच्छु आच्छु बनाएको थियो ।

१० वर्षपछि नेपालले पुनः सोही उद्देश्यका साथ कार्तिक १५ देखि २४ गतेसम्म टी–२० विश्वकप छनौट प्रतियोगिता खेल्दैछ । त्यो पनि घरेलु मैदानमा ।  ८ टोली सहभागी हुने यो प्रतियोगितामा नेपाल शीर्ष २ भित्र पर्ने लक्ष्यका साथ प्रतियोगितामा होमिएको छ। आइसिसीको नियमअनुसार एसिया क्षेत्रबाट २ शीर्ष टिम सिधै टी–२० विश्वकपका लागि छनौट हुनेछन् । पछिल्लो समयमा घरेलु मैदानमा आयोजना भएका सबै प्रतियोगिता सुखद रूपमै सम्पन्न गराएका कारण आइसिसीले नेपाललाई टी–२० विश्वकप छनौट प्रतियोगिता आयोजनाको जिम्मा दिएको हो । 

यो प्रतियोगितामा नेपाली टोलीलाई घरेलु मैदान र समर्थकलगायत अन्य धेरै कुराको फाइदा छ । नेपाली क्रिकेट टिमले पछिल्ला केही महिनायता घरेलु भूमिमा खेलेका खेलमा लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । घरेलु मैदानमै खेलेर नेपालले यस अघि एक दिवसीय विश्वकप ग्लोबल छनोट तथा एसिया कप जस्ता प्रतियोगितामा स्थान बनाएको थियो ।  अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ मा संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपका लागि नेपालले एसिया क्षेत्रको छनोट पार गर्नुपर्ने हुन्छ ।

नेपालमा आयोजना हुने यो प्रतियोगितामा आठ देशको सहभागिता छ । सन् २०२२ को टी–२० विश्वकपमा १६ देशले अवसर पाएका थिए तर आइसिसीको नयाँ नियम अनुसार अब टी–२० विश्वकपमा २० देशको सहभागिता रहनेछ । जहाँ पछिल्लो विश्वकपको उत्कृष्ट १२ देश सोझै विश्वकपका लागि छानिएका छन् भने बाँकीका ८ देवले आ–आफ्नो क्षेत्रीय प्रतियोगिता छनौट पार गर्नुपर्नेछ । सोही क्षेत्रीय प्रतियोगिताअन्तर्गत नेपालले एसिया क्षेत्रको प्रतियोगिता आयोजना गर्ने अधिकार प्राप्त गरेको हो ।  सन् २०२२ को टी–२० विश्वकपमा उत्कृष्ट १२ भित्र पर्न सफल भएका देश अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, पाकिस्तान, नेदरल्यान्डस, श्रीलङ्का, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश तथा अफगानिस्तान हुन् भने आयोजकका नाताले वेस्ट इन्डिज र अमेरिका पनि छनोट भएका छन् ।

आइसिसीको नियमअनुसार विश्वकपका लागि एसिया, अफ्रिका, युरोपबाट २–२ देश छानिने छन् भने अमेरिका र इस्ट एसिया प्यासिफिकबाट एक–एक राष्ट्रको सहभागिता रहनेछ ।

प्रतिक्रिया