प्याजले रुवायो

नेपालखोज २०८० जेठ ३२ गते ९:११

काठमाडौं । गत महिनासम्म प्रतिकिलो ५० रुपैयाँ रहेको प्याजको भाउ चरम अभावका कारण अहिले झण्डै दोब्बर भएको छ । काठमाडौंका स्थानीय व्यापारीहरुका अनुसार आलुको मूल्य पनि झण्डै २५ प्रतिशतले बढेको छ ।

अहिले नेपालका व्यापारीले भारतबाट प्याज, आलु र अन्य तरकारी आयात गर्न बन्द गरेका छन् । सरकारले गत महिना यी उत्पादनमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि आयात बन्द गरेको नेपालका व्यापारीहरुले बताएका छन् ।

विपक्षी सांसदहरूले नेपाल सरकारको यो कदमको आलोचना गरेका छन् र यसले न्यून आय भएका घरपरिवारलाई खाद्यान्न असुरक्षाको चपेटामा पार्ने र आकाश छोएको मुद्रास्फीतिको मारमा परेकाहरूको पीडा थपिने तर्क गरेका छन्।

संसदमा पेश भएको आर्थिक विधेयकअनुसार प्याज, आलु र अन्य तरकारी तथा फलफूल आयातमा अब १३ प्रतिशत भ्याट लाग्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले स्थानीय किसानको संरक्षण र आयातमा कटौती गर्ने उद्देश्यले यो कदम चालिएको कुरा बताएका छन् ।

नेपालले आफुलाई चाहिने प्याज छिमेकी राष्ट्र भारतबाट आयात गर्ने गरेको छ । गत वर्ष भारतबाट १ लाख ७३ हजार ८२९ टन प्याज आयात भएको थियो । नेपालले स्थानीय मागको करिब ६० प्रतिशत आलु उत्पादन गर्छ भने बाँकी आलु पनि भारतबाट आयात हुने गरेको छ ।

नेपाल प्याजका लागि भारतमा पूर्ण रूपमा निर्भर भएकाले स्थानीय किसानलाई संरक्षण गर्न भ्याट लागू गरिएको उनको तर्कको कुनै औचित्य नभएको भन्दै विपक्षी सांसदहरूले अर्थमन्त्रीको आलोचना गरेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक बिक्रेता केशव उप्रेतीले भने, ‘सरकारले भ्याट लगाउनुअघि काठमाडौं उपत्यकाले भारतबाट दैनिक सात सयदेखि एक हजार टन प्याज आयात गर्न गरेको थियो तर अहिले दश दिनदेखि भारतबाट प्याज आउन बन्द भएको छ ।

उप्रेतीले भ्याट तिरेर भारतबाट तरकारी आयात गर्दा कानुनी समस्या भएको बताए । जसका कारण तरकारीको भाउ बढेको हो ।

नेपाल सरकारले हाल ९ प्रतिशत कृषि सेवा कर र ५ प्रतिशत अग्रिम आयकर समेत उठाउँदै आएको व्यापार संघका महासचिव प्रकाश गजुरेलले बताए ।

प्याज र आलुबाहेक नेपालले भारतबाट बैंगन, मटर, लसुन, सिमी र पालक पनि आयात गर्छ । त्यस्तै, भारतबाट एभोकाडो, स्याउ, खुबानी, चेरी, रास्पबेरी , क्र्यानबेरी, किवी र आँप जस्ता फलफूल पनि आयात गर्ने गरेको छ । नेपाल केन्द्रीय बैंकका अनुसार वैशाखमा वार्षिक मुद्रास्फीति ७.४१ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया