उच्च तापक्रमका कारण करोडौँको ड्रायगन कुहियो

नेपालखोज २०८० जेठ ३२ गते १६:११

काठमाडौं । केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नस्ट भएको छ । तापक्रम बढेसँगै फूल फूल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् ।

तीन पटक(लट)सम्मको फल कुहिन थालेपछि व्यावसायिक ड्रायगन किसान मार्कामा परेका छन् । चर्को घाम, पानी र हावाहुन्डरीबाट जोगाउनुपर्ने खेती भएकाले जेठ १५ देखि बढ्दै गएको तापक्रमका कारण व्यावसायिक किसान निराश बनेका हुन् ।

यस वर्षको चर्को घाम र हुन्डरीले पथरी शनिश्चरे–६ का पुर्व वडाध्यक्ष जयबहादुर तामाङले सञ्चालन गरेको पुर्वाञ्चल मल्टिपल एग्रिकल्चरमा करिव पाँच देखि सात लाखसम्मको ड्रायगन क्षति गरेको छ ।

पथरी शनिश्चरे–८ का खगेन्द्रप्रसाद लिम्बूको मेद्यावी कृषि फर्ममा पनि ड्रायगनका बोटमा क्षति भएको छ । अढाइ बिघामा लगाएको फर्ममा भूई भरि कोपिला र दाना कुहिएर झरेका छन् ।

लिम्बूले यस पटकको घाम र हावाले रू १५ लाख बराबरको ड्रायगन कुहिएको जानकारी दिए । फर्ममा टिप्न तयार भएका फलसमेत चर्को मैसमका कारण चाउरिएर साना दाना लागेका उनले बताए ।

पटक पटक उत्पादन भएको फलबाट मनग्ये आम्दानी हुने भएकाले हरेस भने नखाएको लिम्बूको भनाइ थियो ।

ड्रायगन फलको नेपालमा अत्यधिक माग छ । खुल्ला सिमानाका भएकाले थाईल्यान्डलगायत बाहिरी देशबाट आएको ड्रायगन फ्रुटले नेपाली बजार चलेको छ ।

बाहिरबाट आयात हुने ड्रायगन फ्रुटलाई रोक नलाएसम्म नेपाली ड्रायगनले बजार नपाउने किसानको भनाइ छ । नेपाली ड्रायगनले खुल्ला बजार नपाएसम्म किसान मर्कामा पर्ने उनीहरु बताउँछन् । पूर्वमा ड्रायगन फ्रुट किसान धेरै भए पनि बजार नभएको किसानले बताउँदै आएका छन् ।

नेपालमा ड्रायगन नयाँ खेती भएकाले मौसमले समस्या उब्जाएको हो । चर्को घामका कारण ड्रायगनका बोट र फल कुहिने, फङगर्स रोग फैलिने, बोटमा कमिला लाग्नेलगायत समस्या आउन थालेको किसानले गुनासो गरेका छन् ।

ड्रायगन खेती विज्ञताको कमि र औषधिसम्बन्धी ज्ञान नभएका कारण बोटमा फङ्गर्स रोगले सताउने गरेको छ । साना किसानले बजार नपाएर गाउँघरमै डुलाएर फल बेच्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया