मन्त्रालय भन्छ- सिम्रिक एयरलाई ‘हेलिपोर्ट’ निर्माण गर्न दिनु जायज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्र ‘सिम्रिक एयर’लाई हेलिपोर्ट (हेलिकप्टर उडान तथा अवतरण गर्ने ठाउँ) निर्माण गर्न दिएको अनुमति जायज भएको दाबी गरेको छ । मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘हवाइ सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०६६’ अनुसार निर्माणको अनुमति दिइएको जानकारी दिए । निर्माण अनुमति दिनका लागि कुनै कानुनी अप्ठ्यारो नभएको र नीतिगत निर्णयका आधारमा नै दिइएको सचिव अधिकारीको दाबी छ ।
सिम्रिकलाई दिइएको अनुमति एक पक्षीय नभएको, गृहमन्त्रालय, रक्षा मन्त्रालय र पर्यटन मन्त्रालयको साझा सैद्धान्तिक सहमतिबाट मात्रै यस्तो निर्णय गरिएको सचिव अधिकारी दाबी छ । मन्त्रालयले कानुनलाई ख्याल गर्दै उक्त निर्णय गरेको पनि दाबी गरिएको छ । त्रिभुवन विमानस्थलको अनियन्त्रित चाप नियन्त्रण गर्न विभिन्न ठाउँमा हेलिपोर्ट वा हेलिप्याड निर्माण गर्न दिनुपर्ने उनकाे भनाइ छ । छतमा पनि हेलिकोप्टर अवतरण भइरहेका बेला सिम्रिक एयर कम्पनीले व्यवस्थित किसिमको हेलिप्याड १० करोडसम्म खर्च गरेर बनाउने, हेलिकोप्टर त्यहींँ राख्ने, ट्रेनिङ दिने वातावरण बनाउनेलगायतका विषय सैद्धान्तिक हिसावले ठीक भएको उनको दाबी छ ।
सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने निती अँगालेको छ । यस अवस्थामा व्यक्तिले आफ्नै जग्गामा, आफ्नै खर्चमा हेलिपोर्ट बनाउँछु भनेमा त्यसको विरोध गर्नु नपर्ने र हुँदैन भन्ने कुनै कारण पनि नभएको मनत्रालयको दाबी छ । तर आकाशमा उड्दाको अवस्था, प्राविधिकलगायत पक्षचाहिँ ख्याल गर्नुपर्नेमा मन्त्रालय सचेत रहेको छ । सैद्धान्तिक रुपमा हेलिप्याड सञ्चालन गर्न उपयुक्त हुने तर यसलाई अनुमति दिने सन्दर्भमा भने नेपाल नागरिक उड्डयन प्राधिकरणले समग्र पक्षहरु, सुरक्षाको पक्षलगायतलाई विश्लेषण गरेर दिने भन्ने निर्णय गरिएको छ ।सचिव अधिकारी भन्छन्, ‘ सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन दिने निर्णय राम्रो हो,जथाभावी हेलिप्याड नबनी एउटा स्टान्डर्डको हेलिप्याड बनोस् भन्ने सरकारको चाहना हो ।’
अर्कातिर हेलिपोर्टमा हेलिकोप्टर राख्न दिँदा त्रिभूवन विमानस्थलको आयकर घट्छ भन्ने कुरा व्यवहारिक नभएको मन्त्रालयको दाबी छ । हेलिपोर्ट सञ्चालन गर्दा जुनसुकै पक्षबाट पनि सरकारलाई राजस्व बुझाउनु पर्ने हुन्छ । सिम्रिक एयरबाहेक अन्य कम्पनी, स्थानीय तहलगायतले हेलिप्याड बनाउन अनुमति मागे दिइने सोचमा मन्त्रालय छ । अहिले सिम्रिकलाई हेलिपोर्ट निर्माण गर्न मन्त्रालयले दिएको अनुमति अन्तिम नभएको र प्राविधिकलगायत हरेक पक्षको नागरिक प्राधिकरणले अध्ययन गरेपछिको निर्णय भने अनुमति दिने वा नदिने भन्ने अन्तिम हुने जनाइएको छ ।

प्रतिक्रिया