सोमबार, वैशाख १७, २०८१

फिलिपिन्ससँग नेपाल पराजित

नेपालखोज २०८० जेठ ३२ गते २०:०९

काठमाडौं । फिलिपिन्ससँग भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ ।

फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा नेपाल १० ले पराजित भएको हो । दोस्रो हाफको सुरुवातमा लिएको अग्रता नै फिलिपिन्सका लागि जित निकाल्न पर्याप्त रहयो । नेपालले सेट पिसमा गोलको केहि अवसर सिर्जना गरेपनि त्यसको फाइदा उठाउन सकेन । आफ्नै गल्तीमा पछि परेको नेपालले बराबरी गर्ने अवसर पाएको थियो, तर गोलरक्षकले केहि उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई जित दिलाए ।

१४ औं मिनेटमा एरिक विष्टको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो । लाकेनको पासमा नवयुग श्रेष्ठले पेनाल्टी क्षेत्र भित्रबाट सट प्रहार गर्न नसक्दा डिफेन्सले क्लिअर गरेको बललाई एरिकले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेका थिए ।

२३ औं मिनेटमा अन्जन विष्टको क्रसमा आयुष घलान हेडरसम्म पुग्न सकेनन् । पहिलो हाफमा नेपालले खासै अवसर सिर्जना गर्न नसक्दा दोस्रो हाफमा भने फिलिपिन्सले सुरुवातमै अग्रता लियो ।

४९ औं मिनेटमा फिलिपिन्सले नेपालको कमजोरीको फाइदा उठाउँदै अग्रता लियो । कर्नरमा आएको बललाई पुजनले ६ यार्ड बक्स भित्रबाट क्लियर गर्न नसक्दा जाभिएर गायोसोले पोस्टको दिशा दिएका थिए ।

६२ औं मिनेटमा नेपाल खेल बराबरी गर्नबाट चुक्यो । एरिक विष्टको फ्रिकिकमा अनन्त तामाङको हेडर पोस्टमा लागेर फर्किएको थियो । ८८ औं मिनेटमा अनन्तकै हेडरमा गोलरक्षक बाधक बन्दा नेपाल बराबरी गोल फर्काउनबाट बन्चित भयो ।

नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिप भारतको बैंग्लोरमा ६ देखि १९ असारसम्म हुँदैछ । दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल कठिन समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा आयोजक भारतसँगै पाकिस्तान र पहिलो पटक सहभागी हुन लागेको कुवेत छ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपालले ६ असारमा कुवेतविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ । ९ असारमा नेपालले साविक विजेता भारतसँग खेल्नेछ । १२ असारमा नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ । हरेक समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल १६ असारमा तथा फाइनल १९ असारमा हुनेछ ।

प्रतिक्रिया