सोमबार, वैशाख १७, २०८१

नेपालले ओमानलाई हरायो

नेपालखोज २०८० जेठ ३२ गते २१:५४

काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो ।

ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका कुशल भुर्तेलले सर्वाधिक १०१ रनको योगदान दिए । उनले ९४ बल खेल्दै १३ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाए । यस्तै नेपालका अर्का खेलाडी आसिफ शेखले २४ बलमा २३ रन बनाए ।

भीम सार्कीले ७४ बलमा ५६, कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ र दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे । कुशल मल्ल १७ रनमा आउट भए । ओमानका लागि अकिब ईलियासले ४ र फैयाज बटले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको थियो ।

ओमानका लागि कप्तान जिशान मकसुदले १०६ बलमा १०९ रनको शतकीय इनिङ खेले । त्यस्तै सोयब खानले ६८ बलमा ३८ रन बनाए । नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट झारे । करण केसी र प्रतिश जिसीले समान १/१ विकेट लिए ।

एक दिवसीय विश्वकप छनोट खेल आगामी असार ३ गतेदेखि जिम्बावेमा सुरु हुँदैछ । विश्वकप छनोटको पहिलो खेलमा नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।

प्रतिक्रिया