सोमबार, वैशाख १७, २०८१

पुलिसले जित्यो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि

नेपालखोज २०८० जेठ ३२ गते २२:५७

काठमाडौं । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय क्लब नेपाल पुलिसले जितेको छ । इटहरीमा आज साँझ भएको फाइनलमा विभागीय क्लब एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले उपाधि जित्दा एपीएफलाई ३–० को सेटमा निराश बनाएको थियो ।

उपाधी जितेको पुलिसले नगद ३ लाख रुपैयाँ पुरस्कार हात पारेको छ भने उप विजेता भएको एपीएफले १ लाख ५० हजारमा चित्त बुझाउन बाध्य बन्यो । इटहरी रंगशालामा भएको खेलको पहिलो सेट २५–१९ ले जितेको पुलिसले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी पुनम चन्द घोषित हुदै नगद ५५ हजार पुरस्कार पाइन । यसैगरी बेस्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कामना पुन र बेस्ट लिबेरो पुलिसकी शान्ती तामाङ भए ।

प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका रुपेश विष्ट भए । उनीहरुले जनही १५ हजार प्राप्त गरे । प्रतियोगिताका विजेता तथा उपविजेतालाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, कार्यक्रमकी अध्यक्ष तथा बोर्डकी उपाध्यक्ष जिना कार्की, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्का लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया