गर्मीले बिचल्ली

लुम्बिनी । तापमानको पारोले ४३ डिग्री सेल्सियसको विन्दुलाई निरन्तर ठोकिरहेकाले लुम्बिनी लगायतका क्षेत्रका आम मानिस बिजोग भएको छ ।
उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयवासीको बिचल्ली भएको छ ।
खेतबारीमा लगाइएका बालीनाली चर्को घामले सुक्न थालेका छन् । गर्मी र पानी नपर्दा वर्षे पानीमा आश्रित किसानले खेतमा धानको ब्याड समेत राख्न पाएका छैनन् भने कसै कसैले जेनतेन गरि राखेको ब्याड पनि सुक्न थालेका छन् ।
बढ्दो गर्मीले मानिस मात्र नभई पशुपक्षी समेत पानी र शीतलता खोज्न थालेका छन् । रूपन्देही र कपिलवस्तु लगायतका क्षेत्रमा तापमान बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने मजदुर वर्गलाई समस्या थपिएको सरोकारवालाहरूको भनाइ छ ।
‘वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्नुले घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ,’ सम्मरीमाइ स्वास्थ्य शाखा प्रमुख मुन्सी माझीले भने, ‘अत्याधिक गर्मीले बजार, शैक्षिक संस्थाका साथै सरकारी कामकाज समेत प्रभावित छ।’
जेठ ३२ गते बिहीबार पश्चिमी मधेश अन्तर्गत रूपन्देहीको भैरहवा क्षेत्रमा अधिकतम ४३ र न्यूनतम २८.८ डिग्री सेल्सियस (देशभरिकै उच्च) तापमान मापन गरिएको जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाको विशेष मौसम बुलेटिनमा उल्लेख छ।
(यस क्षेत्रमा बढ्दो गर्मीका कारण बिरामीको चाँप पनि बढ्दै गएको छ,) भैरहवा भीम अस्पतालका सूचना अधिकारी डा. आरिफ अन्सारीले भने, ‘सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने भीम अस्पतालमा अहिले दैनिक ३ सय ५० बढी आउने गरेका छन् ।’
‘अधिकांश झाडापखाला, वान्ता, आँउ एलर्जी, अपच, जन्डिस, श्वासप्रश्वास, भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन्,’ डा. अन्सारीले भने, ‘गर्मीले मुख सुक्ने, पानीको कमी हुनेलगायतका समस्या देखिएका बिरामीलाई झोलिलो पदार्थ खान सुझाव दिने गरेका छौ ।’
अत्यधिक गर्मी र तातो हावाहुरीले त्यसले बालबालिका, वृद्धवृद्धा लगायत बिरामीको श्वासप्रश्वासमा समेतमा असर पुर्याउने गरेको युनिभर्सल कलेज आफ मेडिकल साइन्सेज रानीगाउँ भैरहवाका एसोसिएट प्रोफेसर तथा बालरोग विशेषज्ञ डा. नगेन्द्र चौधरीले बताए ।
तराई मधेश तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न र आवश्यक सतर्कता अपनाउन रूपन्देही जिल्लाका १६ वटै स्थानीय तहसँग समन्वय, सहकार्य, सूचना सम्प्रेषण तथा प्रचारप्रसार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकालले बताए ।
यस्तो गर्मीमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, निस्किनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया