आधुनिक घट्ट बनेपछि हट्यो दुःख

दैलेख । वरिपरि घना जङ्गल। जङ्गलको बिचमा छङछङ बग्ने खोला। त्यही बाक्लो घनाजङ्गलका न्याउलीको न्याहुन्याहु र कोहिली चरीको कुहुकुहुले वन नै गुन्जायमान भएको थियो। त्यो घना जङ्गलको बीचमा एउटा सानो चिटिक्क परेको पानी घट्ट। दैलेखको ठाटीकाँध गाउँपालिका ३ मा अवस्थित पानीघट्ट विशाला, खुडखुडी र बहाकोटबासीका लागि घट्ट पिस्ने केन्द्र बनेको छ।
वरिपरिको सुन्दर वातावरण, स्वच्छ हावापानीका कारण पनि यहाँका आउनेको भिड् लाग्छ। पहिले दुई देखि तीन घण्टाको उकालो ओरालो यात्रा गरेर जानुपर्ने बाध्यता थियो। तर, अहिले त्यो बाध्यता हटेको यहाँका स्थानीय बताउँछन्। पहिले घट्ट नहुँदा तीन घण्टा पैदल हिडेर घट्ट पिस्न गएको सम्झिँदा अहिले आश्चर्य लाग्ने गरेको ठाटीकाँध गाउँपालिका ३ खुड्खुडीका लालबहादुर आले मगर बताउछन्।
‘पहिले तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे,’ उहाँले भन्नुभयो,‘ तीन घण्टाको बाटो हिडेर घट्ट पुगे पनि पालो पाइदैन थियो। दुईदेखि चार दिन घट्ट कुरेर घट्ट पिसेर घर फर्किन्थे। बिहानको झिसमिसेमै टर्च बालेर मकै गहुँ पिस्न घट्ट पुग्ने आफ्ना दिन अहिले फेरिका छन्।’ उनीजस्तै ठाटीकाँध ३ विशाला माझखर्ककी मैनकला शाहीका दुःख पनि उस्तै थिए। बिहान भालेको डाकोसँगै उठ्थिन। कुम्लो कुटिरो सँग टर्च बालेर एक महिनालाई पुग्ने गहुँ पिस्न तीन देखि चार घण्टाको बाटो हिडेर रामघाट खोला पुग्थिन्। सित्तिमित्ति घट्ट पिस्ने पालो पाउदैन थिइन्।
तीन चार घण्टाको बाटो हिडेर गए पनि पालो नपाउने समस्या थियो। घट्टमा घट्टेराहरुको भिड हुन्थ्यो। घट्ट पुग्ने बित्तिकै गहुँका बोराले घट्ट भरिभराउ हुन्थे। अगाडि पालो नपाउने कुराले मन खिन्न बनाउँदै बस्नुपरेको दिन ताजै रहेको अहिले सम्झिन्छन् । लालबहादुर र मैनकला जस्तै यहाँका एकसय चार घर परिवारका समस्या उस्तै थिए। तर अहिले दिन दिन फेरिएका छन्।
ठाटीकाँध गाउँपालिका ३ खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि यहाँका एकसय चार घरदुरी परिवारका दिन बद्लिएका छन्। पहिले तीन चार घण्टा हिड्ने बाटोमा अहिले आधा एक घण्टामै घट्ट पिस्न सकिन्छ । घट्ट बनेपछि उनीसँगै बिशाला माझखर्क, खुड्खुडी र बहाकोटका नागरिकका दुःख टरेको छ। ठाटीकाँध गाउँपालिका र युएनडिपीको आर्थिक सहयोगमा खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि एक सय चार घर लाभान्वित भएका छन् ।
ठाटीकाँध गाउँपालिका र युएनडिपीको सहयोग गरी कुल ५ लाख ७५ हजार १२२ रुपैयाँमा निर्माण सम्पन्न भएको घट्ट बाहकोट, खुड्खुडी र माझ खर्क विशालाका नागरिकका लाभान्वित भएका छन्। जेठ ३१ बट सञ्चालनमा आएको हो। घट्ट पिस्न आउने प्रति बोरा पिसेबापत पचास र ३० केजी पिसेबापत ३ कुरुवा लगेर कोषमा जम्मा गर्ने गर्ने गरेको आलेको भनाई छ। -INS

प्रतिक्रिया