सोमबार, वैशाख १७, २०८१

बोरिस र शिभालीलाई स्वर्ण

नेपालखोज २०८० असार १ गते १८:२५

काठमाडौं । बोरिस अधिकारी र शिभाली गुरुङले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–१४ सिङ्गल्समा आज स्वर्ण जितेका छन् ।

बोरिस छात्र तथा शिभाली छात्रामा पहिलो भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छात्र फाइनलमा बोरिसले वृजेश अर्याललाई ६–२ र ७–६ को सोझो सेटमा पराजित गरे ।

छात्राको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई सिधा सेटमा ६–० र ६–१ ले सहजै हराइन् । राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको टेनिस प्रतियोगिताअन्तर्गत यु–१६ सिङ्गल्सको छात्रमा शङ्कर हैस्नान र छात्रामा सुनिरा थापा पहिलो भए ।

फाइनलमा शङ्करले राजवीर प्रधानलाई ४–६, ६–४ र ६–१ को सेटमा पाखा लगाए । सुनिराले शिभालीलाई दोहोरो स्वर्ण जित्नबाट रोक्न ६–२, ५–७ र ६–१ को नतिजामा विजयी भइन् ।

नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष डबल्समा अकी जुवेन रावत र आरभसम्राट हाडाको जोडी पहिलो बने । उक्त जोडीले फाइनलमा प्रणव खनाल र अभिनव आचार्यको जोडीलाई ६–३ र ६–४ को सोझो सेटमा पन्छाए ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स फाइनलमा मोहम्मद युनुसले रोहित सुनुवारलाई ६–४ र ६–२ ले निराश पार्दै स्वर्ण जिते । ५५ वर्षमाथि पुरुष सिङ्गल्समा थोङवान तुलेश्वरले राजु श्रेष्ठमाथि ६–० र ६–२ को सहज जित दर्ता गर्दै शीर्ष स्थान हात पारे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिङ्गल्समा सन्तोष खत्रीले कमलबहादुर भण्डारीलाई ६–७, ७–५ र १०–५ तथा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले दावा सोनाम शेर्पालाई ६–२ र ६–० ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको अन्तिम दिन शनिबार उक्त स्पर्धाको फाइनलसँगै पुरुष-महिला सिङ्गल्सको पनि फाइनल हुनेछ ।

प्रतिक्रिया