काठमाडौंमा कफी सम्मेलन

नेपालखोज २०८० असार २ गते ६:३२

काठमाडाैं । नेपाल कफी व्यवसायी महासंघले आज राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी – २०८० को आयोजना गर्दैछ । महासङ्घले असार २ देखि असार ५ गतेसम्म राजधानीमा कफी सम्मेलन तथा प्रदर्शनी, २०८० को आयोजना गर्न लागेको हो । कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन एवं प्रदर्शनीको आयोजना गर्न लागिएको महासङ्घले जनाएको छ ।

उद्यमी व्यवसायीका आफ्ना उत्पादनहरूको प्रदर्शनी तथा यस क्षेत्रको समग्र विकासमा सकारात्मक योगदानका लागि सम्मेलन तथा प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सम्मेलनमा कफीको आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्न विद्यमान तथा आवश्यक नीतिमा छलफल एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबीच अन्तरक्रिया गरिनेछ ।

सम्मेलनमा कफी उत्पादक, निर्यातकर्ता, उपकरण उत्पादक एवं कफी उत्पादक तथा प्रवर्द्धनसम्बन्धी व्यवसायीहरूले आफ्ना उत्पादनहरूको प्रदर्शन गर्ने अवसर प्रदान गरिने महासङ्घका अध्यक्ष ओमनाथ अधिकारीले बताए ।

सम्मेलनबाट कफी उत्पादकहरू, सम्बन्धित उद्यमीहरूलगायत यस क्षेत्रमा रुचि राख्नेहरूका लागि सकारात्मक सहयोग पुग्ने महासङ्घका महासचिव सन्तोष पोखरेलले बताएका छन् ।

प्रतिक्रिया