नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढायो

काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पहिलो चरणको अनुसन्धानमा प्रमाण नपुगेका विषयमा प्रहरीले दोस्रो चरणमा अनुसन्धान थालेको छ ।
अभियुक्तले बयानमा नाम लिएका तथा स्वतन्त्र प्रमाणले पुष्टि हुन नसकेका व्यक्तिहरूमाथि प्रहरीले दोस्रो चरणमा अनुसन्धान थालेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी भन्छन्, ‘दोस्रो चरणको अनुसन्धान चलिनै रहेको छ, फरार अभियुक्त पक्राउदेखि प्रमाणको खोजीमा हामी लागिरहेका छौँ ।’
सो मुद्दामा १५ जना फरार छन् । जसमध्ये १२ जना अदालतमा मुद्दा दायर भएका फरार छन् । तीनजनाको प्रस्ट ठेगाना खुल्न सकेको छैन । जसमध्ये एक बिचौलिया बेचन झा हुन् ।
उनले नै तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र यो धन्दामा संलग्न गिरोहबीच सम्पर्क गराइदिएका थिए । झा पक्राउ परे यो प्रकरणमा थप पाटो प्रस्ट हुने प्रहरी अधिकारी बताउँछन् ।
बिचौलियाहरूले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’देखि केपी ओलीका पिए राजेश बज्राचार्यसम्मलाई पैसा बुझाएको दाबी गरेका छन् । तैपनि थप प्रमाण खुल्न नसक्दा उनीहरूमाथि पहिलो चरणमा प्रहरीले अभियोग अघि बढाउन सकेन ।

प्रतिक्रिया