सोमबार, वैशाख १७, २०८१

खेलाडीको भविष्य सुनिश्चित गछौं : मन्त्री लिम्बू

नेपालखोज २०८० असार २ गते १८:२०

काठमाडाैं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र सहज हुने गरी सरकारले कानुनी व्यवस्था गर्ने उनले स्पष्ट पारे ।

पोखरा रङ्गशालामा आजदेखि सुरु भएको तेस्रो प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीको भविष्य सुनिश्चित पार्ने कानुन ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिए । नेपालको खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रको समेत साथ आवश्यक रहेको उनले बताए ।

खेलकुदमा निजी क्षेत्रको लगानी सुनिश्चित गर्दै खेलकुदमा लागेका अभिभावकलाई समेत सम्मानित हुने वातावरण सरकारले बनाउने मन्त्री लिम्बूको भनाइ छ । खेलकुदका संरचनालाई सङ्घीयताअनुसार विकास गरिने उनले स्पष्ट पारे ।

प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकीका उपाध्यक्ष तथा रेफ्री अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगर जानकारी दिए । खेलाडीबीच एकल काता स्पाइरिङ तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ । जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौलसम्म तथा महिलातर्फ ४० देखि ७० केजीसम्म प्रतिस्पर्धा गराइने भएको छ ।

यसैगरी एकल प्यार्टनतर्फ ग्रिन बेल्टदेखि ब्ल्याकबेल्ट तेस्रो डानसम्मका खेलाडी प्रतिस्पर्धामा उत्रिने छन् । सो अवसरमा विभिन्न खेल प्रदर्शनीसमेत साथै राष्ट्रिय खेलकुदमा प्रतियोगिता स्वर्ण विजेता खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ । rss

प्रतिक्रिया