काभ्रे र नवलपरासीमा भेटिए पुरातात्विक वस्तु

नेपालखोज २०८० असार ३ गते ८:४८

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन् ।

उक्त क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेका हुन् । पुरातात्विक वस्तु भेटिएपछि तत्कालै पुरातत्व विभागले डोजर लगाउने कार्य रोक्न लगाएको छ ।

विभागले यसबारे अध्ययनसमेत थालेको छ । विभागले गत जेठ २८ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई बनेपा नगरपालिका–१४ भैँसीपाटीमा डोजर लगाउने कार्य रोक्न पत्राचार गरेको हो ।

सडक मापदण्डमै प्राचीन सम्पदा फेला परेपछि संरक्षणकर्मीले त्यसमा चासो देखाएका थिए । विभागको भक्तपुरका प्रमुख यमुना महर्जन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेपछि ती संरचना मध्यकालीन समयको रहेको पुष्टि भएको हो ।

महर्जनले उक्त क्षेत्र पुरानो ‘पदमार्ग’ भएकाले नेवारी भाषामा सो स्थानको नाउँ नै ‘फल्चाहिटी’ रहेको बताए । पदमार्गमा पानीको स्रोत भएको ठाउँमा पाटी हुने भएकाले सो स्थानमा पुरानो पाटी, ढुङ्गेधारा र कुँवासमेत भेटिएका छन् । यी सम्पदालाई जोगाउन हाल उक्त क्षेत्रमा सडक विस्तारको काम रोकिएको छ ।

यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचारसमेत गरेको छ । सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाका प्रमुख राजेन्द्रमान दासले उक्त स्थानमा सडक निर्माणार्थ कसरी डिजाइन गर्ने भन्नेबारे सर्वपक्षीय सहमति बनाइने बताए । पुरातात्विक सम्पदा भेटिएको ठाउँमा डोजर नचलाउन पाँचखालका अभियानकर्मी श्रीकृष्ण धिमालले विभागमा निवेदन दिएका थिए ।

गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो । उक्त सडकखण्ड तीन बर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कुल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तारकार्यका लागि चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमि रहेको छ । उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको हो ।

बर्दगोरियामा पुरातात्विक भग्नावशेष

पश्चिम नवलपरासीको बाबा बर्दगोरिया मन्दिर आसपासमा एक मुर्तिसहित पुरातत्विक भग्नावशेष भेटिएको छ । सुनवल नगरपालिका–११ को केरवानीमा रहेको सो स्थानमा ऐतिहासिक देवीको शिला र पुरातत्विक भग्नावशेष भेटिएको हो ।

धेरै पुरानो उक्त मन्दिरमा करिब दुई हप्तादेखि पुरातत्व विभागले अध्ययन अनुसन्धान गरिरहेको छ । विभागका पुरातत्वविद् तथा पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञवालीका अनुसार अनुसन्धानमा शिखर शैलीको देवीको मूर्ति र विभिन्न वास्तुकलाका अंश जसमा आर्म लक, गजुर, एस्टी, वेस, कार्नेस, पिलरलगायत वस्तु भेटिएको र नदीको छेउमा इनार भेटिएको छ । ट्रेन्च लेआउटको प्रविधिमा अध्ययन गरिएको अनुसन्धानमा जमिनमुनि एउटा विण प्रवेश गराएर गरिएको अन्वेषण गरिएको थियो ।

विण प्रवेशमा अवरोध आएपछि त्यो ठाउँमा उत्खनन गर्दा ती संरचना भेटिएको उनको भनाइ थियो । खासगरी पर्खाल लगाउने बेलामा मूर्ति भेटिएपछि श्री बाबा बर्दगोरीया धाम विकास संस्थाले त्यहाँ अनुसन्धान गर्न अनुरोध गर्दा उक्त पुरातत्वविद् ज्ञवालीका टोलीले सहयोग पुर्याएको र त्यहाँ अझ धेरै अवशेष हुनसक्ने अनुमान गरिएको ज्ञवालीले उनले उल्लेख गरे । विशेष गरी मन्दिरको दक्षिणपट्टि धेरै नै संरचना रहेको अनुमान गरिएको छ ।

उक्त मन्दिर नजिकै रहेको नदीले केही भग्नावशेषलाई क्षति पुर्याई बगाएको पनि छ । नदीकै छेउमा प्राचीनकालको इनार (कुँवा) र शिला पनि भेटिएको थियो । अहिले भेटिएको संरचना १३-१४औँ वा १५-१६औँ शताब्दीको हुनसक्ने अनुमान गरिएको छ । अन्वेषणको काम बाकी रहेकाले कति शताब्दीको भन्ने विषयमा यकिन गर्न सकिएको छैन ।

वि.सं २०५२ मा पुरातत्व विभागले खोला (नदी) को किनारमा भेटेको ताम्रपत्रमा अङ्क उल्लेख नभएकाले शताब्दी छुट्यान गाह्रो भए पनि आदित्य वैरौदायित्य माधव उल्लेख भएकाले सम्भवत विक्रमसंवत् १२१२ शताब्दीतिरको हो भन्ने अनुमान गरिएको छ । जहाँ तत्कालीन राजाको नाम महाराजधिराज जयादित्य देव र उनका वंशलगायत अन्य व्यक्ति पनि उल्लेख गरिएको छ ।

यस्तै श्री बाबा बर्दगोरीया धाम विकास संस्था मन्दिरको अध्यक्ष नरपति पाण्डेले यस्तो पुरातत्विक ठाउँको विकास गर्न अतिआवश्यक रहेको बताए ।

कतिपय स्थानीयवासीको छेउछाउमा रहेका भग्नावशेषलाई बाढीले क्षति पुर्याएका बखत पुरातात्विक वस्तु भेटिृएकाले उनीहरूले घर लगेका र त्यसलाई समेत मगाएर सङ्ग्रहालय बनाएर राख्ने तयारी रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया