वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा.डा. देवकोटाको अर्धकदको प्रतिमा अनावरण

नेपालखोज २०८० असार ३ गते ९:५९

काठमाडौं । वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ ।

वि.सं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिनुभएको प्रा.डा. देवेकोटाको पित्तनलीको क्यान्सरबाट वि.सं २०७५ असार ४ गते निधन भएको थियो ।

चौतीस वर्षका अवधिमा उनले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका प्रा.डा. देवकोटाले वीर अस्पतालमा न्यूरो सर्जरी विभाग तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेका थिए ।

बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल परिसरमा राखिएको सो प्रतिमाको प्रा।डा। दिनेशनाथ गङ्गोल र पूर्वमन्त्री वाचस्पति देवकोटाले संयुक्तरूपमा अनावरण गरे ।

नेपालमा आधुनिक स्नायु शल्यचिकित्सक विधालाई सुरुआत गराउने प्रा. डा. देवकोटाको स्मृतिमा स्थापित उपेन्द्र देवकोटा फाउन्डेसनद्वारा आयोजित सो कार्यक्रममा फाउन्डेसनका अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाले नेपालमा स्नायु शल्यचिकित्सा विधाको विकास र विस्तारमा प्रा डा उपेन्द्र देवकोटाको भूमिका अतुलनीय रहेको बताए ।

उनले प्रा.डा. उपेन्द्रको योगदान चीरस्थायी बनाउन फाउन्डेसनले सामाजिक काम गरिराखेको जानकारी दिए । स्नायु विज्ञानको उन्नयन एवं विकास तथा प्रा.डा. उपेन्द्र देवकोटाको योगदानलाई चीरकालसम्म परिचित गराउन गैरनाफा मूलक संस्थाको रुपमा वि.सं २०७९ फागुन १८ गते फाउण्डेशन स्थापना भएको थियो ।

प्रतिक्रिया