आइतबार, जेठ ५, २०८२

बाढीले भोजपुरकाे लिफ्ट आयोजना बगायो

नेपालखोज २०८० असार ४ गते १२:४१

भोजपुर । बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७ को लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पुर्याएको हो ।

बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्याङ्की बगाएको छ भने त्यहाँ निर्माण गरिएको घर पनि पुरिएको छ । चयनपुर नगरपालिका–११ मा रहेको यो आयोजनाबाट तीन सय ८६ मध्ये १०० परिवारले पानी उपभोग गर्न थालेका थिए ।

खोलामा आएको बढीले आयोजनालाई क्षति पुर्याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले जानकारी दिए । निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा क्षति पुगेपछि समस्या थपिएको उनको भनाइ थियो ।

‘सवा खोलामा आएको बाढीले आयोजनाको काममा पूर्णरुपमा क्षति पुगेको छ’ प्रमुख सिंहले भने,‘खोला किनारमा रहेका संरचना बनाएको छ, क्षतिको पूर्णविवरण आउन बाँकी छ । अनुमानित रु डेढ करोडभन्दा बढीको क्षति भएको अवस्था छ ।’ आर्थिक वर्ष २०७५/७६देखि यो योजनाको निर्माण थालिएको हो ।

बाढीले पानी तान्ने ठाउँमा रहेको सम्पूर्ण उपकरण तथा संरचनामा क्षति पुर्याएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए । ‘बढीले खानेपानी सञ्चालनमा अवरोध भएको छ’ उनले भने,‘खोला किनार रहेको कुनै पनि संरचना बाँकी छैनन् । सबै पुरिएको अवस्था छ । बाढीका कारण करोडौँको क्षति भएको अवस्था छ ।’

प्रतिक्रिया