अङ्कको सट्टा प्रदेशको नाम राख्न निर्देशन

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएकामा त्यसलाई सच्याउन सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम नखुलेको भन्दै सांसदहरुले विरोध जनाएका थिए । विरोधपछि केही बेरका लागि स्थगित बैठक सभामुखको यस्तो निर्देशनपछि पुनः सुरु भएको छ ।
‘सम्बन्धित मन्त्रालयबाट वार्षिकरूपमा सम्पादन हुने कार्यक्रम समावेश हुने पुस्तिकामा उल्लिखित केही विषयहरु, खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि म पुनः निर्देशन गर्दछु’, सभामुख घिमिरेले निर्देशन दिँदै भने, ‘प्रदेशको नाम हुनुपर्नेमा अङ्क उल्लेख भएको र यस विषयमा सांसदहरुले प्रश्न उठाइसकेपछि अङ्कको सट्टा प्रदेशको नाम राखी सुधार गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु ।’
उनले प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि यस्तो निर्देशन दिएकोमा सच्याइएको विनियोजन विधेयकमा पनि फेरि प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए ।
प्रतिक्रिया