संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायी : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हालै भएको नेपाली संसदीय प्रतिनिधिमण्डलको चीन भ्रमण फलदायी भएको जानकारी दिएका छन् ।
चीनको छेन्दु – तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनले पत्रकार सम्मेलनमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाएको बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण हुनु पोखरेली र समग्र नेपालीका लागि खुसी र गर्वको विषय भएको जनाउँदै उनले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गराउनेतर्फ सबै लाग्नुपर्ने आवश्यकता औँल्याए ।
चीनको स्वशासित क्षेत्र तिब्बत्मा पाँचौँ पर्यटन सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रुपमा आमन्त्रण भई आफूहरू त्यसतर्फ गएको जानकारी दिँदै उनले उक्त क्रममा चीनको उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट भएको बताए ।
सङ्घीय ससंद्का पदाधिकारी र सदस्यसहित दुईजना संसद् सचिवालयका कर्मचारी सहभागी नौ सदस्यीय प्रतिनिधिमण्डल गत जेठ २७ गते रातिको उडानबाट गोन्जाओ हुँदै बेइजिङ पुगिएको उनले जानकारी दिए ।
बेइजिङमा महत्वपूर्ण भेटवार्ता गरी त्यहाँबाट साङ्घाई र फर्किएर तिब्बत् आएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । त्यहाँबाट बसाइँमा नेपाल र चीनबीचका दुईपक्षीय सम्बन्धसँगै व्यापारिक, व्यावसायिक र आर्थिक सम्बन्ध विकासका लागि महत्वपूर्ण छलफल गरिएको उनले बताए ।
उनका अनुसार चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष, चिनियाँ जनराजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष, साङ्घाइको नगरपालिका सचिव, तिब्बत्को स्वसाशित क्षेत्रको चिनियाँ कम्युनिष्ट पार्टीको सचिवलगायतसँग भेटवार्ता भएको थियो ।
भेटघाटमा दुबै देशमा उत्कृष्ट संसदीय अभ्यासका अनुभव आदानप्रदान, नयाँ प्रविधिको ज्ञान आदिका साथै कोभिडका कारण लामो समयदेखि स्थगित भएका दुई देशका सांसदको भ्रमण, संसद्का कर्मचारीको क्षमता अभिवृद्धिको तालिमलाई आगामी दिनमा अगाडि बढाउने र नियमित गर्ने गरी छलफल भएको उनले बताए ।
नेपाल र चीनबीच व्यापारिक सम्बन्ध धेरै पुरानो र ऐतिहासिक रहेको बताउँदै अध्यक्ष तिमल्सिनाले यस्तो सम्बन्धकाबीच पनि हामी व्यापार घाटामा रहेको बताए ।
व्यापार घाटालाई कम गर्ने सन्दर्भमा नेपालबाट कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन कसरी बढीभन्दा बढी निर्यात गर्न सकिन्छ त्यसबारे छलफल गरिएको उनले बताए ।
खासगरी अमिलो जातका फलफूलको नेपालले निर्यात गर्न सकिने वातावरण रहेको र राँगाको तथा बङ्गुरको मासु निर्यात गर्न सकिने गरी चीनमा माग प्रसस्त रहेको अध्यक्ष तिमिल्सिनाले बताए ।
प्रतिक्रिया