मुस्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मुस्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै गएको छ । उपमहानगरपालिकाका खासगरी वडा नं १४ र १५ मा किशोरी र महिलामा सञ्चालन भएको विभिन्न बालविवाह विरोधी अभियानले ७० दशमलव ०३ प्रतिशत बालविवाह कम भएको सर्वेक्षणले देखिएको फातिमा फाउन्डेसन बाँकेका अध्यक्ष मैमुना सिद्धिकीले जानकारी दिए ।
उनले बालविवाहविरुद्धको अभियानलाई निरन्तरता दिने विषयमा चुनौती थपिएको उल्लेख गर्दै मदरसाको मात्रै पहुँच भएका किशोरी अहिले विद्यालय गएर पढ्न थालेको बताए । किशोरीलाई विद्यालय लैजानका लागि पोशाक र पुस्तकको केही समस्या भएको जानकारी दिँदै उनले बालविवाहविरोधी अभियानलाई निरन्तरता दिन स्थानीय सरकारसँग पनि सहकार्य गर्न प्रस्ताव गरेको बताए ।
नेपालगन्ज उपमहानगरपालिका महिला विकास अधिकृत मञ्जु पाण्डेले उपमहानगरपालिकाको वाड नं १९ मा किशोरी परामर्श केन्द्र स्थापना भएको जानकारी दिँदै किशोरी विकास कार्यक्रमलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका–१५ की अञ्जली राउले आफू बालविवाहको दुष्चक्रमा फसेको जानकारी दिँदै अभिभावकलाई बुझाएपछि त्यसबाट मुक्त भएको जानकारी दिए । अञ्जलीले खासगरी किशोरी समूहमा आबद्ध भएपछि बालविवाहविरुद्धको अभियानमा एक वर्षअघि मात्रै लागेको बताए ।
उनी कलेजको दश जोड दुईमा अध्ययनरत हुनुहुन्छ । परियोजनाका संयोजक उमेश गुप्ताले उपमहानगरपालिकाको वडा नं १४ र १५ मा सबैभन्दा बढी बालविवाहको समस्या भएको जानकारी दिँदै बालविवाहको प्रमुख कारण गरिबी भएको बताउनुभयो ।
उनले महिलालाई नीतिगत तहमा पहुँच पुर्याउने र आर्थिक सशक्तीकरणमा जोड दिएको उल्लेख गर्दै स्थानीय स्रोत र साधनमा समेत महिलाको पहुँच बढेको बताए । सो फाण्डेसनले किशोरी, महिलाको समूह बनाएर बालविवाहबाहेक सीप विकास र क्षमता अभिवृद्धिमार्फत तरकारी खेती, बाख्रापालनलगायतका आयआर्जनका कामसमेत गरेको छ ।

प्रतिक्रिया