जलेश्वर नगरपालिकाले ल्यायो ७१ करोड ५३ लाखको बजेट

महोत्तरी । जलेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ७१ करोड ५३ लाख बढीको बजेट ल्याएको छ । विहीबार नगरपालिकाको ११ औं नगरसभामा मेयर सुरेश साह सोनारले ७१ करोड ५३ लाख ८० हजार रुपैयाको बजेट प्रस्तुत गरेक हुन्।
संघीय सरकारबाट प्राप्त हुने अनुदान ६४ करोड ३७ लाख ५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान २ करोड १६ लाख ७५ हजार र नगरपालिकाको आन्तरिक श्रोत एवं बैँक मौज्दातबाट ५ करोड गरी ७१ करोड ५३ लाख ८० हजार रुपैयाको अनुमानित आय प्रस्तुत गरेको मेयर सोनारले बताए ।
नगरसभामा उनले अगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम समेत प्रस्तुत गरे । दिगो नतिजामूलक विकासको लागि आवश्यक गुरुयोजना तयार गरी आगामी वर्ष आवधिक नगर विकास योजना, भू–उपयोग योजना एवं प्रकोप व्यवस्थापन योजना निर्माण गरी कार्यान्वयनमा निरन्तरता दिईने नीति लिइएको छ ।
‘पवित्र सुन्दर हरित समृद्ध, जलेश्वर’ भन्ने नारालाई सार्थक तुल्याई नगरपालिकालाई पूर्ण सरसफाईलाई निरन्तरता दिई सरसफाईमा नमुना शहरको रूपमा स्थापित गरिने लक्ष्य रहेको मेयर सोनारले बताए ।
नगरपालिकामा एकसय दिने स्वच्छता अभियान संचालन गरी नगरपालिकालाई फोहोर मुक्त बनाइने र प्लाष्टिकजन्य झोलाको प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाईने योजना रहेको छ । जलेश्वर नगर क्षेत्र भित्र वसोवास गर्ने सम्पूर्ण नागरिकहरुको लागि स्वच्छ खानेपानीको प्रबन्ध गर्न नगरपालिका र नेपाल खानेपानी संस्थानसंग समन्वय गरी ’एक घर एक धारा’ कार्यक्रम संचालन गरिने नीति लिएको उनले सुनाए ।
‘एक विद्यालय एक खेल मैदान’ को अवधारणा अनुसार खेल पूर्वाधार विकास गरिनुका साथै ‘एक विद्यालय एक विज्ञान ल्याब’ व्यवस्थापनका लागि विद्यालयहरुलाई सहयोग गरिने योजना रहेको उल्लेख छ ।
नगरपालिका क्षेत्रमा जनस्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरु संचालन गर्ने सबै सरकारी तथा गैरसरकारी संघ संस्था तथा नीजि क्षेत्रहरुसंग समन्वय गरी एकिकृत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सुनिश्चित गरिने मेयर सोनारले प्रतिबद्धता जनाए ।
प्रादेशिक अस्पताल जलेश्वरको स्तरोन्नती र सेवा संचालनमा सहजता ल्याउन सरोकारवाला निकायहरुसंग समन्वय गरी आधुनिक उपकरणसहित विषेशज्ञ चिकित्सकसहित सेवा प्रवाहको व्यवस्था मिलाउँदै सबै स्वास्थ्य चौकीहरुको समेत पूर्वाधार विकासमा आवश्यक सहयोग पुर्याई विभिन्न अति आवश्यक ९८ किसिमका औषधिहरू निःशुल्क उपलब्ध गराईने उनको भनाई छ ।
एक नगर एक उत्पादनको लागि जलेश्वरको पहिचानको रुपमा रहेको आँप खेती र माछापालनलाई प्रोत्साहन गरिने योजना रहेको उनले सुनाए । जलेश्वरमा एक कृषि उपज बजार, फलफुल मण्डी, शित भण्डार तथा बिषादी परिक्षण प्रयोगशाला स्थापना गर्न संघीय सरकार तथा प्रदेश सरकारसंग सहकार्य गरिने उल्लेख गरे ।
नगरपालिकाको व्यापार प्रवद्र्धनका लागि भिठ्ठामोड भंसार नाकामा सुख्खा बन्दरगाहका लागि संघिय सरकारसँग समन्वय र सहकार्य गरिने मेयर सोनारले प्रतिबद्धता जनाए ।
प्रतिक्रिया