शनिबार, वैशाख २२, २०८१

तनावबाट मुक्ति पाउन खानुपर्ने खानेकुराहरू

डा. हेमराज कोइराला २०८० असार ९ गते ६:४३

प्रतिकुल परिस्थितिलाई सामना गर्दा हाम्रो शरीरले व्यक्त गरेको शारीरिक, मानसिक र भावनात्मक प्रतिक्रियालाई चिकित्सा विज्ञानको भाषामा तनाव भनिन्छ।तनाव विभिन्न कारणले हुने गर्दछ। तनाव हुँदा सर्वप्रथमतः मान्छे उक्त तनाव कारक तत्त्वसँग डराउँदछ र तुरुन्तै उक्त परिस्थितिबाट टाढा भाग्दछ या परिस्थितिसँग मुकाबिला गर्दछ।

तनावबाट टाढा भाग्दा वा तनावलाई मुकाबिला गर्दा हाम्रो मस्तिष्कले तनाव सामना गर्नका लागि शरीरका विभिन्न अङ्गहरूलाई सक्रिय गराउँदछ। यो सक्रियकरण प्रक्रियामा विभिन्न किसिमका न्यूरोट्रान्समीटर र हर्माेनहरुकाे उत्सर्जन हुने गर्दछ। सामान्यतया तनाव हुँदा मुटुको धड्कन बढ्ने श्वासको गति बढ्ने रक्तचाप घटबढ हुने, मांसपेशी कडा हुने, टाउको दुख्ने, अम्लपित्त बढ्ने, हत्केला, पैतला एवं काखीबाट पसिना आउने, आँखाको नानी फैलिने, निन्द्रा नलाग्ने, खाना नपच्ने, जस्ता लक्षणहरू देखा पर्दछन्।

यसरी तनाव हुँदाका बखत देखा पर्ने उपरोक्त स्वास्थ्य समस्याहरूले शरीरमा अनेकै प्रभाव पार्दछ। यदि यी समस्याहरूलाई अनियन्त्रित छोडी दिएको खण्डमा हाम्रो स्वास्थ्यमा गम्भीर असर पर्दछ। यसर्थ यी समस्याहरूको समयमै निराकरण गर्नुपर्ने हुन्छ। निम्नलिखित खानेकुराको सेवनले तनाव नियन्त्रण गर्न एवं तनावका जोखिम कम गर्नका लागि ठुलो सहयोग गर्दछ।

१. सुख्खा फलफूल : काजू, पिस्ता, बदाम, ओखर, मुङ्गफली, ब्राजिल नट जस्ता सुख्खा फलफूलहरूको नियमित सेवनले तनाव व्यवस्थापनमा ठुलो मद्दत पुर्याउदछ। यी सुख्खा फलफूलमा प्रशस्त मात्रामा स्वस्थ फ्याट्टी एसिड पाइने हुँदा यी फ्याट्टि एसिडले शरीरलाई तनावको अनावश्यक प्रभावबाट बचाउँछ। सुख्खा फलफूलमा सामान्यतया भिटामिन ई र बी उच्च मात्रामा हुने हुँदा तनावको बेला बढेको रक्तचापलाई कम गर्न मद्दत गर्दछ। यसै गरी यी खानेकुराहरूमा खनिज तत्त्व र एण्टिअक्सिडेण्टको मात्रा पनि प्रशस्त हुने हुँदा तनाव लाई चाडै लगाम लगाउँदछ। आफ्नो तौल बराबर ग्राम सुख्खा फलफूल सेवन गर्नु पर्छ।

२. अश्वगन्धा : तनाव, चिन्ता, भय र उदासीनताले ग्रसित व्यक्तिहरूका लागि अश्वगन्धाको सेवनले अत्यन्त फाइदा पुर्याउदछ। यसले हाम्रो मस्तिष्कको तनाव सम्बन्धी रासायनिक सूचना प्रणालीलाई अवरुद्ध गरेर तनाव कम गर्दछ। अश्वगन्धाको सेवनले तनावको क्रममा उत्सर्जित हुने कर्टिसोल हर्माेनहरुलाई पनि कम गर्दछ। यसै गरी तनावको स्थितिमा देखा पर्ने उच्च रक्तचाप, उच्च रक्त ग्लुकोज, रक्त चिल्लोको गडबडी जस्ता मानबिन्दुहरूलाई समेत कम गर्दछ। दैनिक १ देखि २ ग्राम अश्वगन्धालाई पानी सँग वा दूधसँग सेवन गर्दा धेरै फाइदा हुन्छ। 

३. ग्रीन टी : ग्रीन टी भिटामिन, एन्टीआक्सीडेण्ट र आवश्यक एमिनो एसिडहरूको राम्रो श्रोत हो। ग्रीन टीमा पाइने एल–थियानिन र आर्जिनिन नामक एमीनो एसिडले तनाव र चिन्ता कम गर्न मद्दत गर्दछ। यी तत्त्वहरूले तनावका क्रममा देखा पर्ने मांसपेशीको कडापन र उच्च रक्तचापलाई समन गर्दछ। 

४. पालुङ्गो : चम्सुर, पालुङ्गो र अन्य हरिया सागपातहरूको सेवनले तनावलाई उल्लेखनिय रूपमै कम गर्दछ। हरिया सागपातहरूमा पाइने धेरै पोषक तत्वहरू जस्तै भिटामिन, खाद्यरेशा, खनिज एवं लवण र एण्टिअक्सिडेण्टले तनाव कम गर्न मद्यत गर्दछ। हरियो सागपातमा मनग्गे पाइने म्याग्नेसियम नामक खनिजले हाम्रो शरीरमा हुने ३०० भन्दा धेरै रासायनिक प्रतिक्रियामा भाग लिने गर्दछ। यो खनिजको उपयोग तनाव, चिन्ता, भय, उदासीनता, अनिन्द्रा, निराशा, उन्माद एवं पागलपनको उपचार गर्नका लागि पनि प्रयोग गरिन्छ। हरियो सागपातलाई सकभर नपकाईकन ग्रीन स्मूथी बनाएर खाएको राम्रो हो। 

५. चीया सीड : चिया सीडमा प्रशस्त मात्रामा ट्रीप्टोफ्यान नामक एनिमो एसिड पाइन्छ । ट्रीप्टोफ्यानले दिमागमा सेरोटोनिन नामक न्युरो ट्रान्समीटरको संश्लेषण र उत्सर्जन गर्न मद्दत गर्दछ। सोरोटोनिनको उत्सर्जनले मानसिक शान्तिलाई बढाउने र निन्द्रा लगाउने गर्दछ।दैनिक २० ग्राम चिया सीडलाई सिधै चपाएर, स्मूथी बनाएर, वा चटनीमा हालेर, सलादमा हालेर, वा डेजर्टको रूपमा पनि खान सकिन्छ। 

६. बेसार : बेसारको प्रयोगले पनि तनाव र चिन्तालाई कम गर्नका लागि अत्यन्त ठुलो भूमिका खेल्दछ। बेसारले हाम्रो मस्तिष्कमा सेरोटोनिन र डोपामाईनको उत्सर्जनलाई बढाउँदछ। यी दुवै तनाव कम गर्ने न्यूरोट्रान्समीटर हरू हुन्। दैनिक एक ग्राम बेसारको सेवन पानी वा दूधसँग गर्दा हाम्रो मानसिक स्वास्थ्य मजबुत हुन्छ। 

७. किवी : किवीलाई पनि मुड ताजा गर्ने फलफूलको रूपमा बुझिएको छ। प्रशस्त मात्रामा भिटामिन सी पाइने यो फलको दैनिक सेवनले तनाव, चिन्ता कम गर्ने र मानसिक स्फूर्ति दिने गर्दछ। यसको सेवन अनिन्द्रा ग्रस्त भएकाहरूलाई पनि उत्तिकै महत्त्वपूर्ण छ। दैनिक १०० ग्राम किवीको सेवन १ महिना सम्म गर्दा तनावमा राम्रो काम गर्दछ। 

८. ब्लूबेरी : ब्लूबेरीको मानसिक स्वास्थ्यको लागि अत्यन्त राम्रो फल हो। यसमा प्रशस्त एण्टिअक्सिडेन्ट पाइने हुँदा अक्सिडेटिभ स्ट्रेसको कारणले हुने स्नायु क्षयलाई रोकेर तनाव र चिन्ता जस्ता समस्या ब्लूबेरीले घटाउँदछ। यसै गरी उच्च रक्तचाप घटाउन, मधुमेह कम गर्न, रक्त चिल्लोको गडबडी कम गर्न पनि ब्लूबेरीले मद्दत गर्दछ। दैनिक १५० ग्राम ब्लूबेरी खादा हाम्रो मानसिक स्वास्थ्य अत्यन्त राम्रो हुन्छ। 

९.फर्सीको बियाँ : फर्सीको बियाँ पनि मानसिक स्वास्थ्यको लागि अत्यन्त लाभदायक खानेकुरा हो। यसमा प्रशस्त मात्रामा एण्टिअक्सिडेण्ट पाइन्छ। मानसिक स्वास्थ्यको लागि अत्यावश्यक म्याग्नेसियम, म्याग्नीज, कपर, भिटामिन के, जिङ्क, आइरन, फस्फोरस जस्ता अनेकौँ खनिज एवं लवणहरू पाइने फर्सीको बियाँको नियमित सेवनले तनाव दूर गर्दछ। यसै गरी चिन्ता बाट मुक्ति पाउन, र मानसिक ताजगीका लागि पनि फर्सीको बियाँ खानुपर्ने हुन्छ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया