बुधबार, जेठ २, २०८१

नेपाल साफ च्याम्पियनसीपबाट बाहिरियो

नेपालखोज २०८० असार १० गते ६:२१

काठमाडाैं । भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसीप पुरुष फुटबल प्रतियोगितामा नेपाल समूह चरणबाट बाहिरिएको छ । भारतको बैङ्गलोरस्थित कान्तिराभ रङ्गशालामा सम्पन्न खेलमा साविक विजेता भारतसँग २–० गोलअन्तरले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

भारतको जितमा सुनिल क्षेत्री र महेशसिंह नोरिमले एक–एक गोल गरे । खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल खायो । खेलको ६१औँ मिनेटमा सुनिलले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७०औँ मिनेटमा महेशले गोल गर्दै भारतलाई २–० को सहज जित दिलाए ।

समूह ‘ए’ मा रहेको भारतले यस जितसँगै सेमिफाइनलमा पुगेको छ । भारतले दुई खेलमा छ अङ्क जोडेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४–० ले गोलअन्तरले पराजित गरेको थियो । त्यसैगरी नेपाल एक खेलअगावै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।

भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४–० ले हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाल र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिए । अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तानविरुद्ध खेल्नेछ । rss

प्रतिक्रिया