शुक्रबार, वैशाख २८, २०८१

धर्मको आडमा ठगी धन्दादेखि बलात्कारसम्मका धन्दा, भत्किँदै आस्था

अहिले धर्मकै आडमा धन थुपार्नेदेखि यौनशोषणलगायतका अपराधमा संलग्न ज्योतिष तथा धर्मगुरुहरूको सूची बढ्दै गएको छ

नेपालखोज २०८० असार १० गते १५:४५

काठमाडाैं । गएको बिहीबार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टमको एउटा मन्दिरबाट प्रहरीले आफूलाई स्वामी पूर्णानन्द बताउने ६३ बर्षका हिन्दू धर्मगुरुलाई गिरफ्तार गर्यो । उनीमाथि एक बालिकालाई बन्धक बनाएर यौन शोषण गरेको आरोप लागेको छ ।

केही वर्षअघि भारत मै शृंखलाबद्ध बलात्कार र यौन शोषणको आरोप लागेर भागेका धर्मगुरु नित्यानन्दले त अहिले पूरै विश्वलाई जिल्याइरहेका छन् । भारतमा शृंखलाबद्ध बलात्कारको आरोप लागेपछि देश छाडेर भागेका बलात्कारी धर्मगुरुलाई पक्राउ गर्न इन्टरपोलले समेत सूचना जारी ग¥यो । भारतीय समाचार संस्थाले निरन्तर ती हिन्दू धर्मगुरुलाई पछ्याइरहे । तर प्रहरीले व्यापक खोजी गरिरहेकै बेला गत वर्ष संयुक्त राष्ट्रसंघको बैठकमा आफ्नो देशको प्रती निधि सामेल भएको भन्दै ती नै धर्मगुरुले एउटा भिडियो सार्वजनिक गरे । भिडियो तथा तस्बिर सार्वजनीक भएपछि पूरै विश्व चकित भयो । ती धर्मगुरु अहिले विश्वमा अस्तित्व मै नभएको कैलाशा नामको देश घोषणा गरेर त्यही टापु देशको राजा बनेर बसेका छन् । जसले अमेरिकासँग कुटनीती क सम्बन्ध स्थापना गरिसकेको र राष्ट्रसंघका लागि आफ्नो स्थायी प्रती निधि रहेको दाबी गरेका छन् ।

बलात्कार आरोपमा फरार सूचीमा रहेका ती धर्मगुरुले घोषणा गरेको देशको आफ्नै मुद्रा, आफ्नै राहदानी, आफ्नै राष्ट्रिय झण्डा छ र उनले आफ्नो मुलुक विश्वको सबैभन्दा कान्छो तर एक मात्र हिन्दू अधिराज्य भएको दाबी गरेका छन् । भारतीय प्रहरीले भने अहिले पनि ती धर्मगुरुलाई खोजीको सूचीमा राखेको छ । भनिन्छ ती बाबाले इक्वेडरनजिकैको एउटा टापुलाई आफ्नो देश भनेका छन् र आफ्नो मुलुकमा आउने जो कोही हिन्दूलाई निःशुल्क बस्ने प्रबन्ध गरिएको वेबसाइटमा उल्लेख गरिएको छ ।

हुन त, धर्म कर्तव्य हो । धर्म करणीय हो, धर्म दैवी शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास हो । तिब्बती धर्म गुरु दलाई लामा आफ्ना शिष्यलाई यही सिकाउँछन् । तर दुई महिनाअघि ती नै दलाई लामा यस्तै विवादमा मुछिए । दलाई लामाले एक बालकलाई मेरो जिब्रो चुस भनेको आवाज सुनिने भिडिओ सार्वजनिक भएपछि भारतमा निर्वासनमा रहेका धर्मगुरु लामा विवादमा तानिए र उनले ती बालकको परिवारसँग माफी माग्नुपर्यो ।

प्रहरीका अनुसार, अहिले धर्मकै आडमा धन थुपार्नेदेखि यौनशोषणलगायतका अपराधमा संलग्न ज्योतिष तथा धर्मगुरुहरूको सूची बढ्दै गएको छ । जुनसुकै धर्म अवलम्बन गरे पनि धर्मकै आडमा स्वार्थ लुट्ने गिरोह बढ्न थालेको छ । यसका लागि टिकटक अथवा अरु सामाजिक सञ्जालको प्रयोग बढी हुने गरेको पाइएको छ ।

कुनै समय काठमाडौंदेखि देशका विभिन्न जिल्लामा पुगेर उपचार गर्ने अलौकिक क्षमता भएका भनिएका सिमान्त केसी सामाजिक सञ्जालबाटै भाइरल भए । सामाजिक सञ्जालबाट ठगी धन्दाको प्रचार गरे । आफ्नो पक्षमा बिरामीलाई सकजरात्मक प्रतिक्रिया दिन लगाए र त्यसैलाई देखाएर ठगी धन्दा चलाए । तर जक उनको ठगी धन्दाको पर्दाफास भयो, प्रहरीले उनलाई खोज्न थाल्यो र केसी धन्दा बन्द गरेर भूमिगत भए । उनले काठमाडौं, कास्की, दाङलगायतका ठाउँमा हजारौंलाई ठगेका छन् । केसी अहिले कहाँ छन् अत्तोपत्तो छैन । काठमाडौंको तारकेश्वरमा रहेको उनको ज्योतिषी सेवा आश्रम प्रहरीले बन्द गराएको छ। गत फागुनमा उनी पोखरामा समातिएका थिए । तर प्रहरीसँगकै मिलेमतोमा छुटेपछि उनले पुनः हजारौंलाई ठगी गरे ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै यही बीचमा अन्धविश्वासको नाममा ठगी धन्द चलाउने अरू धेरै छन् । किनकि समाजलाई हरचिज फटाफट, हाताहाती चाहिएको छ । समाजले अहिले सत्य पर्गेल्ने धैर्यता गुमाइरहेको छ । चिकित्सा तथा आर्युवेद पद्धतिबाट हुने उपचार प्रक्रियामा समय लागेपछि विरक्तिएर फटाफट नतिजा खोज्दै भौँतारिनेहरू यस्ता ढोंगीको फन्दामा पर्ने गरेका छन् । त्यही भीडले सिमान्त गुरु, प्रकाश भुजेल अथवा विजय शाही जन्माइरहेको छ ।

हजारौं आस्तिकलाई ठगेर सिमान्त केसी भागेपछि फेरि टिकटकमै अर्का झाँकी प्रकाश भुजेल छाए । सामाजिक सञ्जालमा आफ्नो उपचार पद्धतिबारे बिरामीबाट प्रशंसा मात्रै पाएको फेक भिडियो अपलोड गरेर सामाजिक सञ्जालमा रातारात भुजेल भाइरल भए । ब्रिामीलाई छोएकै भरमा तत्काल निको पार्ने भ्रम फैलाइरहेका भुजेलले यस्तै ‘छु’ मन्तर गरेकै भरमा आँखाको ज्योति फर्काउने, कानको श्रवणशक्ति फकाइदिने र पक्षघातले थलिएकालाई जुरुक्कै उठेर हिँड्न सक्ने बनाउने भन्दै हजारौंमाझ भ्रम छरेका थिए । जसले आफूलाई वनझांक्रीको चेलो बताउँदै, डेराअगाडि २ हजार, २५ सयको फारम भरेर सयौंको लाइन लगाए र यो बीचमा हजारौं बिरामीलाई ठगे । अहिले ठगीसम्बन्धी उजुरीका आधारमा प्रहरीले पाता कस्ने निश्चित भएपछि ठग्ने सटर बन्द गरेर भुजेल भागेका छन् ।

उनको ठगी गर्ने अड्डा सुरुमा काठमाडौंको नारायणटार थियो, जहाँ भीड व्यवस्थापन गर्न ट्राफिक प्रहरी नै बस्ने गथ्र्यो । तर अहिले हजारौं बिरामी ठगीएको उजुरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको छ र बागमती करिडरमा रहेको कार्यालयमा ताल्चा लगाएर भुजेल बेपत्ता भएका छन् । उनले उपचारका नाममा कतिलाई फारम भर्न लगाए र कति रकम असुले भन्ने लेखाजोखा नै छैन । उनको ठगी धन्दा काठमाडौदेखि दाङसहित देशका विभिन्न प्रमुख सहरसम्म विस्तार भइसकेको थियो । पछिल्लोपटक गायक दुर्गेश थापा र पुण्य गौतमका साथमा भुजेल उपचारका लागि भन्दै दाङ गएका थिए । त्यसपछि भुजेल काठमाडौँ फर्किन पाएनन् । आफूसँग अलौकिक शक्ति भएको भन्दै प्रचार गरेर हजारौंलाई ठगेका प्रकाशले आफ्नो निन्दा गरेमा अनिष्ट हुन्छ भन्दै बिरामीलाई धम्क्याएर राखेका थिए । तर अहिले उनलाई नै अनिष्ट भएको छ ।

हुन त केसी र भुजेल मात्र होइनन्, सामाजिक सञ्जालको दुरुपयोग गर्दै यही बीचमा अन्धविश्वासको नाममा ठगी धन्द चलाउने अरू धेरै छन् । किनकि समाजलाई हरचिज फटाफट, हाताहाती चाहिएको छ । समाजले अहिले सत्य पर्गेल्ने धैर्यता गुमाइरहेको छ । चिकित्सा तथा आर्युवेद पद्धतिबाट हुने उपचार प्रक्रियामा समय लागेपछि विरक्तिएर फटाफट नतिजा खोज्दै भौँतारिनेहरू यस्ता ढोंगीको फन्दामा पर्ने गरेका छन् । त्यही भीडले सिमान्त गुरु, प्रकाश भुजेल अथवा विजय शाही जन्माइरहेको छ ।

कालिकोटका २४ वर्षे विजयी शाही अहिले यस्तै ‘छु मन्तर’ गर्ने ढोंगी क्षमता देखाएर चर्चामा आएका छन् । जो यसअघि आफूलाई दैवी शक्तिसहितको ‘मेमोरी किङ’ भन्दै विवादमा तानिएका थिए । स्मरण शक्तिको फर्मुला सिकाउने भन्दै फारम भराएर पैसा असुल्थे । मतपेटिका छोएको भरमा कसले जित्यो, कसले हार्यो पत्ता लगाइदिने दलील दिन्थे । थोरै समयमा धेरै वस्तु सम्झेर विश्व कीर्तिमान राखेको भ्रम पनि फैलाए । जसको कुतर्क र मिथ्या दाबीमा प्रभावित भएर कैयौं नेपालीले उनको गुणगान गाए र आर्थिक सहयोगसमेत गरे । तर फेक मेमोरी किङको दाग लागेपछि लामो समय गुमनाम भएका तिनै शाही अहिले अर्को चमत्कार देखाउने नाममा मरेको मान्छे बचाइदिने भ्रम फैलाउँदै ठगीको साम्राज्य विस्तार गर्न थालेका छन् । सामाजिक सञ्जाल, युट्युब तथा केही टेलिभिजन च्यानल उनको यो ठगी धन्दाको साझेदारजस्तै बनिरहेका छन् । उनलाई उक्साइरहेका छन् ।

अहिले नेपाली समाज सामाजिक पारिवारिक रुपमा चरम वितृष्णाबाट गुज्रिरहेको छ । आर्थिक तथा पारिवारिक कारणले वैरागिएकालाई टिभी, युट्युब र सोसल मिडियाबाट यस्तै कुप्रचार गरेर आकर्षित गरिन्छ र ढोंगीहरू उनीहरूको मनोभावनामा खेलेर रातारात करोडपति बन्ने सपना देखिरहेका छन् ।

यस्तै धर्मको बर्कोमा रहेका एक बौद्ध गुरु, गएको वर्ष रामेछापको उमाकुण्ड गाउँपालिका २ बाम्तीस्थित प्रसिद्ध ङग्युर पल्युल छेवाङ छ्योइलिङ गुम्बामा पक्राउ परेका थिए । स्थानीयले ती लामा गुरुलाई एक युवतीसँग गुम्बाभित्र आपत्तिजनक अवस्थामा भेटेपछि दिएको उजुरीका आधारमा प्रहरीले गुम्बाका प्रमुख ६२ वर्षीय लामा सर्की शेर्पालाई गुम्बाबाटै पक्राउ गरेको थियो ।

३ वर्ष भयो, अर्का कथित ज्योतिष अर्जुन क्षेत्री प्रहरीको खोरमा पुगेको । आफू विदेशमा ज्योतिष विद्या पढेर आएको धुरन्धर अलौकिक क्षमता भएको ज्योतिष हुँ भन्दै काठमाडौँको गौशाला क्षेत्रमा बसेर हजारौंलाई ठगीसकेका क्षेत्रीले नेपालमा फेरि २०७२ सालको भन्दा ठूलो भुकम्प जाँदैछ भन्ने हल्ला फैलाएपछि प्रहरीले उनलाई पक्राउ गर्यो । त्यसपछि गौशाला क्षेत्रको उसको ठग्ने सटर सदाका लागि बन्द भएको छ ।

आफूलाई बुद्धको रूप अर्थात ‘लिटिल बुद्ध’ दाबी गर्ने रामबहादुर बम्जनको कहानी धेरैलाई थाहा नै छ । जस विरुद्ध चार जना अनुयायीलाई बेपत्ता बनाएको आरोप लागेको छ र बेपत्ता भएका अनुयायी आनीहरू अझै भेटिएका छैनन् । यौन दुराचार तथा आनी हत्याको आरोप लागेका लिटिल बुद्ध फरार छन् । मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सन्चलाल बाइबा र बाराका सुरेशकुमार आले मगर अहिले पनि बेपत्ता छन् र प्रहरीले रामबहादुर बम्जनलाई खोजीको सूचीमा राखेको छ ।

त्यसो त आफूलाई अघोरी बाबा हुँ भन्दै काठमाडौंको सुन्दरीजलमा बस्दै आएका महामृत्युञ्जय अघोरी जोगी र अमेरिका बस्ने शारदा पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको हो । उनीहरूविरुद्ध प्रहरीमा ठगीसम्बन्धी उजुरी परेपछि पक्राउ परेका थिए । ती अघोरी युट्युब तथा सामाजिक सञ्जालमा महिलामाथि यौनिक हिंसा गरेको तथा छाडा अभिव्यक्ति दिएका कारण निकै आलोचित छन् । अघोरी बाबासँग बिहे गरेको भ्रामक समाचार फैल्याएर चर्चामा आएकी ती महिला जब ठगीको आरोपमा प्रहरीको खोरमा पुगिन्, त्यसपछि पाण्डेको अत्तोपत्तो छैन ।

२०७५ जेष्ठमा बर्दिबास नगरपालिका ३ भब्सीस्थित राईमण्डल ईन्देश्वर महादेव मन्दिरका प्रमुख पुजारी वसन्त बलम्पाकीलाई प्रहरीले पक्राउ गर्यो । हातहतियारसहित पक्राउ परेका उनले जोगीको भेषमा आपराधिक तथा यौनजन्य क्रियाकलाप गर्ने गरेको पुष्टि भयो । झारफुकका लागि मन्दिर पुग्ने रोगीलाई विभिन्न ओखती खुवाएर बेहोस् बनाउने र बन्धक बनाएर यौनशोषण गर्ने गरेको पुष्टि भयो । उनी अहिले पनि जेलमै छन् ।

यसैगरी आफूलाई बुद्धको रूप अर्थात ‘लिटिल बुद्ध’ दाबी गर्ने रामबहादुर बम्जनको कहानी धेरैलाई थाहा नै छ । जस विरुद्ध चार जना अनुयायीलाई बेपत्ता बनाएको आरोप लागेको छ र बेपत्ता भएका अनुयायी आनीहरू अझै भेटिएका छैनन् । यौन दुराचार तथा आनी हत्याको आरोप लागेका लिटिल बुद्ध फरार छन् । मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सन्चलाल बाइबा र बाराका सुरेशकुमार आले मगर अहिले पनि बेपत्ता छन् र प्रहरीले रामबहादुर बम्जनलाई खोजीको सूचीमा राखेको छ ।

२०७६ साल मंसिरमा आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा सुनसरी वराहस्थित हनुमान मन्दिरका पुजारी सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास भनिने कृष्णबहादुर गिरी पक्राउ परे । अदालतले सुरुमा उनलाई धरौटीमा रिहा गरेपछि तत्कालै भारत पसेका गिरी अदालतको म्याद गुजारेर पुनः नेपाल फर्केका थिए । जो आफूलाई अधर्मी महिलाले फसाएको स्पष्टीकरण दिँदै अहिले बिस्तारै धार्मिक क्रियाकलामा देखिन थालेका छन् ।

२०७६ सालमै गुल्मीका विजय भण्डारी अर्थात् अर्का धार्मिक गुरुलाई प्रहरीले ‘अमेरिका पठाइदिन्छु’ भनेर २५ करोड भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गर्यो । उनी पनि धर्मको आडमा गिरीसँगै आश्रममा बस्थे र ठगी धन्दा चलाइरहेका थिए ।

२०७६ साल मै जबरजस्ती करणी गरेको आरोपमा काठमाडौँ दक्षिणकालीको एक गुम्बामा अर्का गुरु पक्राउ परे । धार्मिक विधिबाट उपचार गर्ने भन्दै दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामाले कैयौं युवतीलाई डर, त्रास, धाकधम्की देखाई, करकाप र झुक्यानमा पारी शरीर बन्धक राखी युवतीमाथि करणी गरेको अदालतले ठहर गर्यो । ७ वर्षे जेल पाएका ती दुराचारी लामा राजनीतिक तथा आर्थिक प्रभावमा परेर जेलमुक्त भइसकेका छन् ।

२०७६ साल पुसमा अर्का गुरु स्वामी शिवानन्द बाबा भनिने दीपक भण्डारी पनि पक्राउ परे । धार्मिक आवरणमा भण्डारीले युरोप पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट ३० लाखभन्दा बढी असुलेको पुष्टि भयो । सोही वर्षको माघमा, प्रहरीले बाराको रमपुर्वा गाउँमा साधु बाबाको भेषमा बस्दै आएका रामेश्वर भनिने हरिनारायण शर्मालाई पक्राउ गर्यो । भारतको राजस्थान बुन्दी जिल्ला, थाना पाटन, सिन्ता ग्राम पञ्चायत बस्ने वर्ष ५३ का रामेश्वर भनिने हरिनारायण शर्माले एक १३ वर्षीया बालिकालाई करणी गरेको आरोप पुष्टि भयो ।

२०७६ कै पुसमा प्रहरीले ललितपुरस्थित आशा विश्वासी चर्चका पास्टर विश्वास भनिने ध्रुवबाबा जोशीलाई नियन्त्रणमा लियो । उनले आफ्नै चर्चकी एक युवतीलाई पास्टरसँग शारीरिक सम्बन्ध राखेमा परमेश्वरले पापबाट मुक्ति दिलाउनुहुन्छ भन्दै बलात्कार गरेको पुष्टि भयो ।

२०७६ साल असारमा बालयौन दुराचार तथा आपराधिक घटनामा संलग्न रहेको पाइएपछि तुल्सी स्मारक कुटीका पुजारी शिवशंकर दाशलाई प्रहरीले गिरफ्तार गर्यो । ट्युसन पढ्न जाँदा जोगीको भेषमा रहेका दासले पटकपटक यौन दुराचार गरेपछि पीडित छात्राहरूले उजुरी हालेका थिए । त्यसपछि प्रहरीले ती यौन दुराचारी जोगीलाई पाता कस्यो ।

यी माथि उल्लिखित घटना सबै धार्मिक आवरणमा भएका अपराधका केही उदाहरण मात्र हुन् । किनकि अहिले नेपाली समाजमा, धार्मिक आवरणमा यस्ता आपराधिक घटना निरन्तर बढिरहेका छन् । मन्दिरका पुजारी, चर्चका पास्टर, गुम्बाका रिम्पोछेलाई भेट्दा श्रद्धाले शिर झुक्नुपर्नेमा, यस्ता धर्मभिरु देख्दा भाग्नुपर्ने परिस्थिति बनिरहेको छ । धर्मगुरु सर्वसाधारणको विश्वासलाई नै घात गर्दै बलात्कारी, हत्यारा तथा ठगीको पर्याय बन्न थालेका छन् । यसले धर्मप्रति विश्वास मात्रै घटेको छैन, निष्ठामा अडिएका जोगी, बाबा, रिम्पोछे, तथा पादरीलाई समेत बदनामीको दाग लागिरहेको छ ।- INS

प्रतिक्रिया