मंगलबार, जेठ ८, २०८१

स्ट्यान्डर्ड चार्टर्ड बैंकमा बैंकका कर्मचारीका बालबालिकाहरुलाई ‘डे केयर’ सुविधा

नेपालखोज २०८० असार १३ गते ९:१३

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकका कर्मचारीका बालबालिकाहरुलाई ‘डे केयर’ सुविधा संचालनमा ल्याएको छ । बैंकले काठमाण्डौको नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयमा कर्मचारीहरुका बालबालिकाका लागि पुनः क्रेच (डे केयर) सुविधा सञ्चालनमा ल्याएको हो ।

डे केयर सुविधाको उदघा्टन असार सोमबार कार्यक्रमकी प्रमुख अतिथि नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना र बैंकका सीईओ अनिर्वाण घोष दास्तिदारले गरेका छन् । यो सुविधा बैंकले सन् २०१३ बाट सुरु गरेको थियो । कोभिड महामारीका बेला अस्थायी रुपमा बन्द गरिएको यो सुविधा पुनः सुचारु गरिएको हो । विशेषगरी व्यावसायिक रुपमा काम गर्ने आमाहरुका लागि बैंकमा सहयोगी र समावेशी वातावरण सिर्जना गर्न डे केयर सुविधा ल्याइएको बैंकले जनाएको छ ।
विशेषगरी कर्मचारीहरुको समयको बचत तथा ६ महिनादेखि ३ वर्षसम्मका बालबालिकाका लागि सही हेरचाह खोज्ने तनाव कम गर्न सहयोग पुग्ने उद्देश्यले बैंकले यो सुविधा ल्याएको हो । क्रेच स्थापनादेखि लिएर मर्मत खर्च तथा मासिक खर्च बैंकले नै व्यहोर्नेछ । यो सुविधा नयाँ तरिकाले काम गर्ने वातावरण सिर्जना गर्न र उत्पादनशील काम गर्ने अभिभावकका लागि एउटा महत्वपूर्ण कदम रहेको बैंकको विश्वास छ ।

विशेष महिला कर्मचारीलाई आफ्नो व्यावसायिक यात्रालाई निरन्तरता दिन यस किसिमको सुविधा सञ्चालन गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमै पहिलो बैंक रहेको छ । कार्यवाहक गभर्नर तिम्सिनाले कर्मचारीलाई उत्प्रेरित गर्न वर्कफोर्समा महिलालाई सशक्त बनाउन यस किसिमको सुविधा निकै महत्वपूर्ण रहेको बताइन् ।

उनले बैंकका कर्मचारीसँग साक्षात्कार गर्दै महिला कर्मचारीहरुले भोग्नुपरेको थुप्रै चुनौतीका विषयमा चर्चा गरेकी थिइन् । बैंकका सीई दास्तिदारले आफ्ना बालबालिकासँग नजिक हुन सक्ने हिसाबले काम गर्ने अभिभावकहरुका लागि ल्याइएको यो सुविधाले कार्यालयमा काम गर्ने सकारात्मक वातावरण सिर्जना हुने बताए । ‘हामीले चाहेको परिवर्तन तब सम्भव हुन्छ जब हामी कर्मचारीहरु कायम राख्न र उनीहरुको कल्याणमा ध्यान केन्द्रित गर्छौं’, उनले भने ।

बैंकमा सञ्चालनमा ल्याइएको डे केयर सुविधा सबै कार्यदिनहरुमा खुला रहनेछ । जहाँ बालबालिकाहरु सुरक्षित, प्रगतिशील र रमाइलो वातावरणमा विभिन्न गतिविधिमा संलग्न हुन पाउनेछन् । त्यहाँ प्रत्येक बालबालिकालाई व्यक्तिगत रुपमा ध्यान दिइनेछ । उनीहरुलाई ग्याजेटहरुबाट टाढा रहन र खेल तथा अन्य गतिविधिमार्फत एक–अर्कासँग थप अन्तरत्र्रिmया गरी स्वतन्त्र र अनुशासित बनाउन जोड दिइनेछ ।

प्रतिक्रिया