आइतबार, वैशाख २३, २०८१

सासू-बुहारी अन्तरक्रियाका लागि बजेट

नेपालखोज २०८० असार १३ गते १३:४३

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो ।

समाजमा सासू र बुहारीलाई हेर्ने गलत दृष्टिकोणमा परिर्वतन ल्याउन उक्त कार्यक्रम राखिएको गापा उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए । उनले भने, ‘सासू र बुहारीलाई एकै ठाउँमा राखेर एकअर्काको भावना र कर्तव्य बुझाउन समन्वयकारी भूमिका निर्वाह गरेमा सामाजिक र पारिवारिक सम्बन्ध कायम गर्न सहयोग पुग्ने कार्यक्रमको उद्देश्य छ ।’

‘सासू कहिले आमा हुुन सक्दैनन् र बुहारी छोरी हुन सक्दैनन्’ भन्ने भनाइलाई गलत साबित गर्न यस कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ । सासू र बुहारीको सम्बन्धलाई समाजमा कहिले पनि नमिल्ने वा सधैँभरि मिलेर बस्न नसक्ने सम्बन्धका रुपमा लिने गरिएकाले यसलाई चिर्न आवश्यक रहेको उनले बताए ।

यस्तै, फिक्कल गाउँपालिकाले पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सासू–बुहारी सम्मान कार्यक्रम राखेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत छ वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिए ।

यस कार्यक्रमको उद्देश्य गाउँघरमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने रहेको उनको धारणा छ । गाउँपालिकाभित्र रहेका उदाहरणीय सासू र बुहारीलाई सम्मान गर्ने कार्यक्रमलाई आगामी आवहरुमा पनि निरन्तरता दिइने उ्नले बताए ।

सासूले बुहारीलाई छोरी र बुहारीले सासूलाई आमाको व्यवहार गर्नुपर्नेमा गाउँपालिकाको जोड छ । यसले घरेलु हिंसा न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया