के हो जलवायु परिवर्तन ?

मानवीय गतिविधि तथा क्रिया-कलापहरुका कारण विश्वको तापक्रम बढ्दै गएको छ र त्यसले गर्दा अहिले जलवायु परिवर्तन मानव जीवनका हरेक पक्षका लागि खतरा बनेको छ । यो कुरालाई ख्याल गरिएन र यसरी नै छाड्ने हो भने आगामी दिनमा तापक्रम यति धेरै बढ्न सक्छ कि मानव जीवनमा संकट आउन सक्छ, चरम खडेरी पर्न सक्छ, समुद्रको पानीको सतह बढ्न सक्छ र यी सबै प्राकृतिक विपत्तिहरूको परिणाम स्वरूप पृथ्वीका धेरै प्रजातिहरू लोप हुन सक्छन् ।
मानव समाजका अगाडि यो एउटा ठूलो चुनौती हो । यो चुनौतीसँग जुध्ने केही सम्भावित समाधान छन् । जलवायु भनेको कुनै ठाउँको लामो समय वा केही वर्षको औसत मौसम हो र जलवायु परिवर्तन भनेको ती औसत अवस्थाहरूमा हुने परिवर्तन हो। द्रुत जलवायु परिवर्तनका लागि मानव गतिविधिहरू मुख्य रूपमा जिम्मेवार छन् । मानिसले घरेलु काम, कलकारखाना र सञ्चालनका लागि तेल, ग्यास र कोइला प्रयोग गर्ने गरेकाले जलवायुमा प्रतिकूल असर परेको छ ।
जब यी जीवाश्म ईन्धनहरू जल्छन् तिनले हरितगृह ग्यासहरू छोड्छन्, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण कार्बन-डाइअक्साइड हो । यी ग्यासहरूको बाक्लो उपस्थितिका कारण सूर्यको ताप पृथ्वीभन्दा बाहिर जान सक्दैन र यस्तो अवस्थामा पृथ्वीको तापक्रम बढ्छ । १९ औं शताब्दीको तुलनामा पृथ्वीको तापक्रम करिब १।२ सेल्सियसले बढेको छ र वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा पनि ५० प्रतिशतले बढेको छ ।
यदि हामीले जलवायु परिवर्तनका नराम्रा परिणामबाट जोगिने हो भने हाम्रा गतिविधिमा ध्यान दिएर तापक्रम वृद्धिका कारकहरूलाई नियन्त्रण गर्न ठोस कदम चाल्नुपर्ने वैज्ञानिकहरू बताउँछन् । तापक्रम बृद्धिलाई सुस्त बनाउन यस्ता उपाय अपनाउनुपर्ने वैज्ञानिकहरुको भनाइ छ ।सन् २१०० सम्ममा ग्लोबल वार्मिङ १ दशमलव ५ डिग्री सेल्सियसमा कायम राख्नुपर्ने वैज्ञानिकहरुको भनाइ छ । विश्वका सबै देशले यस विषयमा ठोस कदम नचाले भने यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम २ डिग्री सेल्सियसभन्दा बढी बढ्न सक्छ ।
वैज्ञानिकहरूको अनुमान छ यदि कुनै कदम चालिएन भने ग्लोबल वार्मिंग ४ डिग्री सेल्सियस भन्दा बढी हुन सक्छ। जसका कारण विश्वले भयावह गर्मीको लहरको सामना गर्न सक्ने, समुन्द्रको सतह बढेर लाखौं मानिस घरबारविहीन हुने, धेरै प्रजातिका वनस्पति तथा जीवजन्तु लोप हुन सक्नेछन् ।
प्रतिक्रिया