असार १५ र धान दिवस

सुनिल उलक २०८० असार १५ गते ९:३२

मानो रोपेर मुरी उब्जाउने भन्ने कथन बिस्तारै हराउदै जान थालेको छ । कुनै बेला देशमा धान चामल निर्यात कम्पनीू थियो र हामी आत्मनिर्भर भएर पनि भारतलाई धान चामल निर्यात गर्न सक्षम थियौ । २०३८ सालमा यो कम्पनी बन्द भयो । हामी बिकासको नाममा खेती योग्य जमिन घडेरी बनाउन छुट दिन थाल्यौ ।

सरकारी नितीको कमजोरीले गर्दा आज हामी धान चामल मात्र होइन सम्पूर्ण अन्नमा पराधिन भइसक्यौ । तर पनि हामीलाइ गर्व लाग्छ, असारे पन्ध्रको । केही सीप लागेन भने हामी गमलामा धान रोपेर भए पनि धान दिवश मनाउन पाउदा गर्वित हुन्छौ ।

झुण्डका झुण्ड खेतमा गएर सेल्फी खिच्नको लागी तथा फेसबुकका पन्ना भर्न रोपाइको नाटक गर्न पुग्दछौ । अब त असारे पन्ध्रको नाम पनि परिवर्तित हुदैछ । दुइ चार वर्ष पछि हामी Mud Festival मनाउन बिदेशीलाई निम्तो दिन सक्षम हुनेछौ ।

धानको इतिहासका कुरा गर्दा करिव १२ हजार वर्ष पहिले चीनको याङ्जी किनारबाट शुरुवात भएको यसको खेती बिस्तारै भारतको गंगा किनारमा पुग्यो । यसरी चीनबाट भारतमा पुग्ने क्रममा नेपालमा पनि यसको खेती हुन थाल्यो । एशियालीहरुमा ९० प्रतिशतको मुख्य खानामा धान नै प्रमुख आधार रहेको छ ।

अहिले विश्वको धान उत्पादनको प्रमुख हिस्सा चीन र भारतमा नै हुने गर्दछ । नेपालमा पनि धानको पर्याप्त खेती हुने गर्दथ्यो । जसले गर्दा देशको खपत भन्दा अत्यधिक भएको धान निर्यात गर्ने उद्धेश्यले २०२९ सालमा सरकारले धान चामल निर्यात कम्पनी स्थापना गरि नेपालले धानको निर्यातको थालनी गरेको थियो । हुन त त्यस अगाडि पनि भारत तर्फ धान निकासी हुन्थ्यो तर खासै नियमन नभए पछि सरकारले कम्पनी नै खोलेको थियो ।

एउटा तथ्यांक अनुसार बि।सं। २०१७/१८ मा नेपालले ४ करोड ३० लाख मुल्य बराबरको २ लाख ८९ हजार मेट्रिक टन धान भारतलाई निकासी गरेको थियो । देशले अन्तिम पटक २०४३/४४ मा १ करोड ४४ लाख मुल्य बराबरको धान निर्यात गर्न सक्यो ।

यस बिच धान उत्पादनको सूचीमा थाइलैण्ड तथा भियतनाम अगाडि आयो र नेपालले मुल्यमा प्रतिस्पर्धा गर्न सकेन । यसपछि धान निर्यात हुन छाड्यो । २०२२ सालमा विश्वकै पाँचौ धेरै धान निर्यात गर्ने देशमा स्थापित हाम्रो नेपाल अहिले वार्षिक एक खरबको धान आयात गर्ने देश भएको छ ।

नेपालले धान आयातको शुरुवात २०३९/४० बाट गर्न थालेको हो । पहिलो वर्ष नेपालले ३४ हजार मेट्रिक टन धान आयात गरेको थियो । त्यसपछि ४०/४१ मा १३ हजार, ४१/४२ मा ८ हजार र ४२/४३ मा ६ हजार मेट्रिक टन मात्र आयात गर्यो । तर यसपछि धान आयात क्रमश बढ्न थाल्यो । ४४/४५ मा निर्यात शुन्य भयो भने आयात करिव २० हजार मेट्रिन टन रहन पुग्यो ।

बिगतको वर्षहरुमा नेपालको धान लगायत अन्य खाद्य पदार्थको आयात हेर्दा हामी पूर्णरुपले पराधिन भइसकेका छौ । हाम्रा खाडी र मलेशियामा पसिना बगाएर देश भित्राएको डलरले हामीले देशका लागि आबश्यक खाद्य वस्तु खरिद गर्न सिध्याउँछौ ।

गाउँका खेत बाँझो रहे शहर बजारमा सबै केन्द्रित भए । कमाएको पैसा अनुत्पादक क्षेत्रहरुमा खर्च भयो । र हामी क्रमश विश्वको गरिवहरुको सूचीमा अगाडि बढ्दै गयौ ।

असार पन्ध्रको रौनक हाम्रा किसान दाजुभाइमा धेरै वर्ष अगाडि देखि नै थियो । यसै बिच सरकारले २०६१ सालबाट असार पन्ध्रलाई धान दिवसका रुपमा मनाउने घोषणा गर्यो । धानको आयात बढ्दो क्रममा रहे पनि देशले धान दिवसको रमाइलो गर्न छोडेन ।

धान दिवसको रुपमा मनाउन थालेको असार पन्ध्र अचेलMud Festiva हुन थालेको छ । एक अर्कोलाई हिलो छ्याप्ने र हिलोमा गाँजिने र तस्विरहरुले सामाजिक सञ्जाल भर्ने प्रतियोगित झै भएको छ । यदि सेल्फी खिच्न आउने झुण्डका महिलालाई कम्तिमा एक मुठा धान रोप्न बाध्य बनाउन तथा पुरुषलाई एक हल नार्न दिन सक्यौ भने शायद हाम्रो असारे पन्ध्रले केही सार्थकता पाउथ्यो होला, अन्यथा यि फेसबुके खेतालाको देशको लागी कुनै महत्व नै छैन ।

यहाँ मैले आज भन्दा ४०(५० वर्ष अगाडी देशका बिभिन्न ठाउमा असार पन्ध्रको दिन धान रोप्दै गरेका दृश्यहरू राखेको छु । यि दृश्य हेर्दा हामी गर्वित हुन्छौ । किनकी त्यो बेला यसले सार्थकता पाएको थियो । हामी आत्मनिर्भर भएर पनि देशको लागी आर्थिक टेवा पुर्याएको थियो । आज त हामी पूर्णरुपमा पराधिन भयौ ।

प्रतिक्रिया