आइतबार, वैशाख २३, २०८१

अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा

नेपालखोज २०८० असार १५ गते १४:४८

तनहुँ । व्यास नगरपालिका-७ शेषमटारमा समता विद्यालय स्थापना गरी अभिभावकविहीन पैँतालिस बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।

खान र बस्नसहितको शिक्षाका लागि नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै साहाराविहीन बालबालिकालाई साहारा दिएको हो । शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भनी नगरपालिकाले उक्त विद्यालय स्थापना गरी आवाससहितको शिक्षा प्रदान गरेको हो ।

नगरपालिकाले बस्ने, खाने, पढ्ने र सुत्नेसहितको सुविधा प्रदान गरेपछि बालबालिका खुसी छन् । बालबालिकालाई चाहिने कापी कमल, पोसाक, झोला, खाने तथा बस्ने सबै नगरपालिकाले व्यवस्था गरेको छ ।

विद्यार्थी अभावले गर्दा क्यामिन छापथोक प्राथमिक विद्यालय बन्द भएपछि नगरपालिकाले ४० लाख खर्चेर विद्यालयको मर्मतसम्भार गरी वि.सं २०७९ भदौ ५ गतेदेखि व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याएको हो ।

साहाराविहीन भएका कतिपय बालबालिका सडकमा भौँतारिएर हिँड्ने गरेकाले पढ्ने, लेख्ने अधिकारबाट वञ्चित हुने तथा कुपोषण हुने गरेकाले व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । कक्षा १ देखि ६ सम्म पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले जानकारी दिए ।

हाल सो विद्यालयमा शिक्षक र कर्मचारी गरी १० जना छन् भने सबै कक्षामा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने तथा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्ने गरिएको छ ।

नगरपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षकत्व गरेकामा स्थानीय बासिन्दा खुसी भएका छन् । यस उदाहरणीय कार्यको अन्य पालिकालेसमेत सिको गर्नुपर्ने आवश्यक देखिएको छ ।

विद्यालय सञ्चालनमा आएपछि अनाथ, असहाय, विपन्न, सहिद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घरपरिवारका बालबालिकाले अध्ययन गर्न पाएका छन् ।

कक्षा ३ मा पढ्दै आएका साजन नेपालीले विद्यालयको मैत्रीपूर्ण वातावरणमा पठनपाठन हुँदा सिक्न र पढ्न सहज भएको बताए।

उक्त विद्यालयको भौतिक संरचना र शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाले गत वर्ष रु एक करोड विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

विद्यालयको भवन, कम्पाउण्ड, गार्ड र केही शिक्षकको व्यवस्थापनका लागि उक्त लगानी गरिएको हो । वडा. नं ७ का बाबुआमा नभएका भक्त दरै र बहिनी गायत्री दरै पढ्न पाएकामा निकै खुसी छन् ।

अध्ययनबाट वञ्चित हुनुपरेका अभिभावकविहीन बालबालिकाले लगनशील भएर अध्ययन गरेको देख्दा खुसी लागेको व्यास–१० का वडाध्यक्ष खेमराज पोखरेलले बताए ।

उक्त विद्यालयमा पढाउने समय तालिका छ, त्योभन्दाबाहेक उनीहरूलाई अनुशासित र लगनशील बनाउन गरिने क्रियाकलाप प्रभावकारी छ । खाजा खान र बस्ने सुत्ने व्यवस्था पनि व्यवस्थित बनाइएको छ ।

व्यास–९ स्थित बसाहस्थान माध्यमिक विद्यालयमा कक्षा ६, ७, ८, ९ र १० मा आवासीय विद्यार्थी भर्ना गरी समता विद्यालय सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

हाल कक्षा ६ सम्म सञ्चालनमा ल्याइएको र क्रमशः कक्षा थप गर्दै लैजाने योजनाअनुरुप नगरपालिका अघि बढेको उनले जानकारी दिए ।

पढ्ने अवसरबाट वञ्चित भएका असहाय बालबालिकालाई नगरपालिकाले ज्ञान आर्जन गर्ने थलो बनाएपछि समता विद्यालय नमुना विद्यालय बन्दै गएको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया