शुक्रबार, वैशाख २१, २०८१

रचना रिमाल र कुमार प्रयासको ‘पिरतीको कथा’ (भिडियो)

नेपालखोज २०८० असार १६ गते ८:१९

काठमाडौं । महेन्द्रदीप राई एक राजनीतिज्ञ हुन् । उनी हाल सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीका वडाध्यक्ष छन् । रोचक त के छ भने गएको स्थानीय तहको निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वीलाई मात्र एक मतले पराजित गरी उनी निर्वाचित भएका थिए ।

हिजोआज वडाबासीको विकास र सेवामा तल्लिन उनको अर्को परिचय गीतकार पनि हो । राईले शुक्रबार मात्रै आफ्नै युट्यूव च्यानलमार्फत पछिल्लो कृतिका रुपमा ‘पिरतीको कथा’बोलको गीत डिजिटल बजारमा सार्वजनिक गरेका छन् ।

गीतकार राईले यसअघि लेखेका ‘सत्य सानु’, ‘याद यति’, ‘पूर्वेली ठिटी’ दर्शक स्रोताले मन पराएका छन् । गीतकार राईले भने, ‘तीन वर्ष अघि लेखिएको गीत हो । एक वर्ष अघि रेकर्डिङ भयो । यो वर्ष भिडियोसहित सार्वजनिक गरेका छौँ । दर्शक स्रोताले मन पराउछन् भन्ने विश्वास गरेको छु ।’

यस गीतका गायक कुमार प्रयास पनि सोलुखुम्बुकै हुन् । लोखिमका उनी एकपछि अर्को सृजना लिएर बजारमा प्रस्तुत भइरहेका छन् । उनकै संगीत र गायन रहेको गीतमा महिला गायनमा चलनचल्तीका गायिका रचना रिमालले साथ दिएकी छिन् । गीतमा देवेश राईको एरेन्ज रहेको छ ।

यो गीतको अब्बलताबारे गायक तथा संगीतकार कुमार प्रयास भन्छन्, ‘गीत पाएपछि मैले कम्पोजिसनमा निकै मेहनत गरेको गीत हो । गीतलाई न्याय होस् भन्ने द्येयले गायिका रचना रिमालको स्वर राखेका छौँ । एरेन्जमेन्ट र भिडियो निर्माणमा पनि उत्तिकै मेहनत गरेका छौँ । गीतको हिसावले सुन्न लायक र हेर्न लायक अडियो भिडियो तयार भएको छ ।’

कुमारकै कुरा गर्ने हो भने ‘हिम्पी’, ‘जरुवाको पानी’, ‘मिठुको भट्टी पसल’, ‘मारेको छ नि हौँ’, ‘जुनको आँशु’, ‘फर्किने आशैमा’उनको यसअघिको गीत हो । ‘पिरतीको कथा’मा उनको दोहोरो भूमिका छ ।

गीत अनुसारको भिडियो निर्माणमा समेत मेहनत गरिएको छ । भिडियोको निर्देशन संगीतकार अनिल कोयी राईले गरेका हुन् । त्यसो त यसअघि उनले ‘हर्पेमा आम्मै ध्यू रैछ’, ‘संजोगले लौन मेल भयो’लगायतका दर्जनौ गीतको भिडियो निर्देशन गरेका थिए । जुन गीत यूट्यूवमा लाखौँलाख पटक हेरिएको छ ।

भिडियोको बारेमा के भन्छन्, ‘यो गीत फिल्मी शैलीमा बनेको छ । गीतको प्रकृति र भावलाई मर्न नदिने गरि भिडियोमा दृष्य कैद गरेका छौँ । मलाई लाग्छ, प्रेमिल जोडीहरुले सुन्ने गीत हो ।’

अनिल कोयी राईले आफ्नो निर्देशनमा देव राई र शर्मिला मगरलाई पर्दामा उतारेका छन् । संभावना बोकेका अभिनयमा संघर्षरत देशको जोडीले प्रमिल युवाको प्रतिनिधित्व गर्दै गीतको भावलाई न्यायपूर्ण अभिनय गरेका छन् ।

मोडेल देवले भने, ‘यो भिडियो सुट छिटो सकिएपनि गीत राम्रो बनेको छ, मलाई आशा छ, दर्शक स्रोताले माया गर्नुहुनेछ ।’ शर्मिलाको भनाइ पनि उस्तै छ । ‘मलाई मन परेको गीतमा काम गर्न पाउँदा खुसी छु । यो टिमको काम गर्ने तरिकाबाट पनि प्रभावित छु ।’उनले भनिन् ।

फिल्मी शैलीको यो गीतको भिडियो छायांकन दिनेश पराजुलीले गरेका हुन् भने अमृत चापागाँईले सम्पादन गरेका छन् । गीतले सकारात्मक प्रतिक्रियासहित भ्यूज बटुल्दै छ ।

प्रतिक्रिया