नेपालमा मानिसहरूको पहिलो शारीरिक सम्बन्ध कहिले ?

काठमाडौं । हालसालै सार्वजनिक भएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले सन् २०२२ मा गरेको अध्ययनअनुसार २५ देखि ४९ वर्षका महिलाहरूको पहिलो यौन सम्पर्क राख्दाको उमेर १८ वर्ष मात्र भएको देखिएको छ जबकि सोही उमेरका पुरुषहरूको शारीरिक सम्पर्कको उमेर भने २० वर्ष छ अर्थात् पुरुषले भन्दा महिलाले कम उमेरमै पहिलो सम्पर्क राख्ने गरेको यो अध्ययनले देखाएको छ । भौगोलिक हिसाबमा पहिलो पटक यौन सम्पर्क राख्ने उमेर पनि फरक देखिएको छ ।
भौगोलिक क्षेत्रका आधारमा महिलाहरूले पहिलो यौन सम्पर्क राख्ने उमेरमा भिन्नता देखिएको हो। यसमा तराई क्षेत्रका महिलामा १७.८ वर्ष तथा पहाडी क्षेत्रका महिलामा १९ वर्ष औसत उमेर छ । २ प्रतिशत किशोर किशोरीले १५ वर्षभन्दा कम उमेरमै यौन सम्पर्क राख्ने गरेका छन् । पछिल्लो समय ३ प्रतिशत किशोरी र एक प्रतिशत किशोरले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् ।
पछिल्ला वर्षहरूमा नेपालको प्रजननदर घटेको छ। विगत साढे दुई दशकमा नेपालमा प्रजननदर आधाले घटेको हो । कुल प्रजननदर २.१ मा घटाउने दिगो विकास लक्ष्य २०२३ मै पूरा भएको छ। सन् २०१६ मा नेपालको प्रजननदर २.३ थियो भने हाल २.१ छ । यद्यपि अहिले नेपालमा किशोरी अवस्थाको प्रजनन दर उच्च छ जसमा १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरी गर्भवती हुने गरेका छन् ।
नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलामध्ये ५७ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै साधन वा विधि प्रयोग गर्छन्। तीमध्ये ४३ प्रतिशतले आधुनिक साधन वा विधि प्रयोग गर्छन्। विवाहित महिलाहरूले सबैभन्दा बढी आधुनिक साधन वा विधिमध्ये बन्ध्याकरण,सुई र इम्प्लान्ट प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।
१५ प्रतिशत विवाहित महिलाले भने अझै परिवार नियोजनको परम्परागत विधि अपनाउने गरेका छन् । विवाहित महिलाहरूमा परिवार नियोजनको आधुनिक साधनको प्रयोग सहरी क्षेत्रमा कम र ग्रामीण क्षेत्रमा बढी देखिन्छ । बढ्दो शिक्षा तथा पारिवारिक सम्पन्नतासँगै आधुनिक साधन वा विधिको प्रयोग सामान्यतया घट्दै गएको बताइएको छ।
प्रतिक्रिया