सोमबार, वैशाख २९, २०८२

बुकाचो गढीमा पृथ्वीनारायण शाहको सालिक

नेपालखोज २०८० असार १८ गते ५:४७

काठमाडाैं । सूर्यविनायक नगरपालिका–८ सिपाडोल नैचालस्थित ऐतिहासिक बुकाचो गढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक निर्माण गरिएको छ ।

नेपाल एकीकरण गर्ने क्रममा भक्तपुर आक्रमण गरी विजयी हासिल गर्दा पृथ्वीनारायण शाहले बुकाचो गढीमा बङ्कर बनाएर बसेको क्षेत्रमा नेपाली सेनाको ५० लाख र सूर्यविनायक नगरपालिकाको २० लाखको लागतमा सालिक निर्माण गरिएको हो । शाहको छ फिट उचाइको पित्तलबाट निर्मित सालिक, बङ्कर क्षेत्रमा दुई कोठासहितको भवन, कम्पाउन्डलगायत संरचना निर्माण गरिएका छन् ।

नगरपालिकाले यस क्षेत्रमा पिकनिक स्पोर्ट, शौचालय र पानी ट्याङ्की निर्माण गर्नुका साथै भ्यू टावर निर्माण गरेपछि भ्यू टावरबाट हिमाली दृश्यसहित उपत्यका हेर्न र गढीको अवलोकन गर्न उपत्यकालगायत विभिन्न ठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

भक्तपुरको जगातीबाट सात किलोमिटरमा पुग्न सकिने दुई हजार एक सय मिटर उचाइमा रहेको यो गढीबाट उपत्यकाको मनोरम दृश्यहरु देख्न सकिने, यहाँबाट जङ्गलका हरियाली दृश्यावलोकन गर्न सकिने, वन्यजन्तु एवं चराको अवलोकन गर्न सकिने तथा माछापुच्छ्रे, गणेश, गौरीशङ्कर, सगरमाथालगायत हिमालको अवलोकन गर्न सकिनेछ ।

नेपालको एकीकरणका सन्दर्भमा पृथ्वीनारायण शाहले बनाएको गढी, किल्लाको संरक्षण गर्ने र इतिहासलाई जीवित राख्न पनि यो स्थान महत्त्वपूर्ण छ ।

प्रतिक्रिया