आइतबार, वैशाख २३, २०८१

‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्‍याे’

नेपालखोज २०८० असार १८ गते १०:३५

गण्डकी । नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताए । प्रदेशसभामा जारी आगामी आव ०८०/०८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उहाँले बजेट निर्माणमा प्रतिपक्षी दलप्रति राजनीतिक पूर्वाग्रह साँधिएको टिप्पणी गरे ।

‘बजेटमा सत्तापक्षको एकाधिकार झल्किएको छ, योजनाको छनोट र बजेट विनीयोजनका हिसाबले यो आग्रही छ, असन्तुलित छ’, उनले भने, ‘आवश्यकताका आधारमा होइन, पहुँचका आधारमा बजेट आएको छ ।’ मन्त्रीहरुले आफू निकटका प्रदेशसभा सदस्य र कार्यकर्तालाई मनोमानी ढङ्गले बजेट बाँडेको उनले आरोप लगाए ।

विगतका सरकारले टुक्रे योजनामा बजेट बाँडेको आरोप लाग्ने गरे पनि अहिलेको सरकार पनि त्यसबाट अछुतो रहन नसकेको उनको भनाइ थियो । भौगोलिक हिसाबले पनि बजेटको वितरण असन्तुलित रहेको नेपालीले बताए । सत्तापक्षका प्रदेशसभा सभा सदस्य र कार्यकर्तालाई खुसी पार्ने हेतुले आएको बजेटबाट समग्र प्रदेशको आवश्यकता र चुनौतीको सम्बोधन नहुने उनले उल्लेख गरे ।

प्रदेशसभा सदस्य बिन्दु पौडेलले पूर्वाधार विकास कार्यक्रममा नवलपुर जिल्लालाई विभेद गरिएको बताए । उनले पूर्वाधार मन्त्रालयले पनि टुक्रे योजनामा बजेट बाँडफाँट गरेको उल्लेख गरे । प्रदेशसभा सदस्य कुसुम बुढाले भौगोलिक अवस्थिति, जनसाङ्ख्यिक स्थिति आदिका आधारमा समानुपातिक तबरले बजेट विनियोजन भएको बताए । प्रदेशसभा सदस्य महेश भट्टराईले पूर्वाधार क्षेत्रलक्षित बजेटले प्रदेशको विकासलाई गति दिने धारणा राखे ।

सडक, पुललगायत योजनाले जनअपेक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले पहुँच पुग्नेको मात्र योजना छनोटमा परेको बताए । बजेटमा स्रोत स्पष्ट नभएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य सुधिरकुमार पौडेल, रोशनबहादुर गाहा थापालगायतले छलफलमा भाग लिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । rss

प्रतिक्रिया