आइतबार, वैशाख २३, २०८१

मधेश प्रदेशमा कृषि कर्जा बढ्यो

नेपालखोज २०८० असार १८ गते १९:४६

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले मधेश प्रदेशको कृषि क्षेत्रमा कर्जा बढाएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्वन्धी मधेश प्रदेशको अर्ध–वार्षिक प्रतिवेदन २०७९–०८० अनुसार कृषि क्षेत्रमा प्रवाह भएको कर्जा १२ दशमलव १२ प्रतिशतले बढेर ५६ अर्ब सात करोड रुपैंयाँ पुर्याएका हुन् ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो कर्जा ५० अर्ब एक करोड रहेको थियो । मधेश प्रदेशमा प्रवाह भएको कुल कर्जा मध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १२ दशमलव ३८ प्रतिशत रहेको छ । मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जा मध्ये सबै भन्दा बढी कर्जा प्रवाह सर्लाही जिल्लामा १५ दशमलव ४८ प्रतिशत रहेको र सबै भन्दा कम कर्जा प्रवाह सप्तरी जिल्लामा सात १३ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंक तथा फाईनान्स कम्पनीहरुले मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा ११ अर्ब सात करोड रुपैंयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४४ अर्ब ६८ करोड रहेको थियो । गत वर्षको सोही अवधिको र समीक्षा अवधिको सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो फरक हुनुमा सहुलियतपूर्ण कर्जाको हालको विद्यमान व्यवस्थालाई आधारको रुपमा लिएको राष्ट्र बैंंकको भनाई छ ।

बैंक तथा फाईनान्स कम्पनीहरुद्धारा प्रवाहित कुल कर्जा मध्ये सबैभन्दा बढी दुई अर्ब ९३ करोड अर्थात् २६ दशमलव ५३ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम ३८ करोड अर्थात् तीन दशमलव ४७ प्रतिशत सप्तरी जिल्लामा रहेको देखिएको छ ।

प्रतिक्रिया