आइतबार, वैशाख २८, २०८२

लम्पी स्किन : काभ्रेमा खोप अभियान

नेपालखोज २०८० असार २० गते १६:५५

काभ्रे । जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण भएपछि यसविरुद्ध ‘खोप अभियान’ थालिएको छ । गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँमा पहिलो पटक देखिएको लम्पी स्किन सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

सङ्क्रमण थप फैलिन नदिने उद्देश्यले खोप अभियान सुरु गरिएको केन्द्रका निमित्त प्रमुख डा कार्कीले बताए । उनका अनुसार जिल्लामा पहिलो पटक धुलिखेल–२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको थियो । पक्स समूहको काप्रीपक्स भाइरसबाट गाईभैँसीमा लम्पी स्किन रोग लाग्ने डा कार्कीले जानकारी दिए ।

उनका अनुसार दुई महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहमा गरी ३५ हजार पशुमा सङ्क्रमण देखिएको छ । नमोबुद्ध नगरपालिका तथा महाभारत र खानीखोला गाउँपालिका बाहेकका स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध पशुमा ‘एन–सिल्ड’ नामक खोप लगाउन थालिएको डा कार्कीले जानकारी दिए ।

हाल केन्द्रले दश हजार डोज खोप खरिद गरी स्थानीय तहमा वितरण गरेको छ । स्थानीय तहको तथ्याङ्क अनुसार जिल्लामा करिब एक लाख ५२ हजार गाई रहेका छन् । रोगको सङ्क्रण बढे्सँगै स्थानीय पशुपालक किसान चिन्तित बनेका छन् । डा. कार्कीले उक्त रोगका कारण जिल्लामा हालसम्म ४५ गाई र एक भैँसी मरेको जानकारी दिनुभयो । उहाँका अनुसार ३५ हजार सङ्क्रमित पशुमध्ये दुई हजार भैँसी छन् । लम्पी स्किन रोग देखिएका पशु राखिएको स्थानभन्दा करिब एक किलोमिटर वरिपरिका पशुलाई खोप नलगाई त्यसभन्दा परका स्वस्थ पशुलाई खोप लगाइएको कार्कीले बताए ।

जिल्लामा देखिएको रोगका कारण रू ४५ लाख हाराहारीमा पशुधन क्षति हुनुका साथै रू छ करोड बराबार दूध उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ग्रामीण क्षेत्रमा रोगको सङ्क्रमण बढेको हो । जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएपछि केन्द्रले स्थानीयस्तरमा सचेतानामूलक जानकारी गराउँदै प्रारम्भिक चरणमा प्रत्येक स्थानीय तहलाई तीन सय डोजका दरले खोप पठाइएको डा कार्कीले जानकारी दिए ।

केन्द्रले लम्पि स्किन विरुद्धको थप मात्रा खोपका लागि वाग्मती प्रदेश सरकारसँग माग गरिएको उनले बताए । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलो पटक देखिएको थियो ।

प्रतिक्रिया