मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडाैं । सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक तयारी गरेको जनाएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्को सम्भावित जोखिम व्यवस्थापनका लागि सरकारले सबैखाले तयारी गरिरहेको र आवश्यक संयन्त्र पनि तम्तयार अवस्थामा रहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवन परिसरमा रहेको मानवीय सहायतास्थलको निरीक्षण गर्दै उनले विपद् व्यवस्थापनका लागि विगतका वर्षभन्दा यो पटक राम्रो तयारी गरिएको उल्लेख गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले सरकारले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत विभिन्न योजना बनाएर त्यसको तयारीका काम गरिरहेको जानकारी दिए । उनका अनुसार देशका ११ वटा स्थलमा मानवीय सहायतास्थल बनाएर तयारीका काम गरिएको छ । जुन–जुन समयमा विपद् आइपर्छ त्यसका निम्ति तत्कालै राहत सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ । त्यसका लागि सुगम स्थानमा मानवीय सहायतास्थल स्थापना गरेर काम भइरहेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्व खाद्य कार्यक्रमले विशेष सहयोग गरिरहेको मन्त्रालयले जनाएको छ । अहिले विपद् प्राधिकरणअन्तर्गतको तयारी धेरै अगाडि बढिसेकको र दुई दिनपछि प्रधानमन्त्रीको अध्यक्षता परिषद्को बैठक आयोजना गरिएको पनि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए । उपप्रधानमन्त्री श्रेष्ठ गृहसचिव दिनेश भट्टराईसहित मानवीय सहायतास्थलको निरीक्षणमा गएका हुन् । सहायतास्थल र त्यहाँ स्टोर गरिएका राहत तथा उद्धारका सामग्रीको मन्त्री श्रेष्ठले निरीक्षण गरेका थिए ।
गृहमन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका प्रमुख उपसचिव रमा आचार्यका अनुसार काठमाडौँसहित देशका ११ स्थलमा मानवीय सहायतास्थल रहेका छन् । विपद्को समयमा मानवीय सहायतास्थलबाट तत्काल सम्बन्धित ठाउँमा राहत सामग्री पु¥याउने गरिएको छ । मनसुनजन्य विपद् आएको खण्डमा तत्काल त्रिपाल, खाद्य तथा उद्धारका सामग्री उपलब्ध गराउने गरेको छ । फायर फाइटिङका सामग्री पनि स्टोर गरिएको छ । विपद्पश्चातको तत्काल गरिने खोज उद्धार तथा राहत व्यवस्थापनसहितको प्रतिकार्यको नेतृत्व गरी यसको संयोजन र सबै निकाय एवं तहको समन्वयात्मक परिचालन गृह मन्त्रालयले गरिरहेको छ ।
मानवीय सहायतास्थल गृह मन्त्रालयको आपत्कालीन बन्दोबस्ती सामग्रीका भण्डारणस्थलको रूपमा रहेको छ । हाल गृह मन्त्रालयले नेतृत्व लिई विश्व खाद्य कार्यक्रम नेपालले यसको सञ्चालनमा सहयोग गर्दै आइरहेको छ । उक्त मानवीय सहायतास्थलबाट गोरखा महाभूकम्प, कोभिड–१९ महामारीलगायत नियमितरूपमा आइपर्ने विभिन्न बाढी पहिरोलगायतका घटनामा मानवीय सहायता सामग्री प्रभावित स्थानमा परिचालन गर्दै आइरहेको छ ।
हाल ११ वटा मानवीय सहायतास्थल (काठमाडौँ, विराटनगर, वीरगञ्ज, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी र जुम्ला) सञ्चालनमा रहेका छन् । काठमाडौँ, विराटनगर, वीरगञ्ज, भैरहवा, सुर्खेत, नेपालजञ्ज, धनगढी र जुम्लाका विमानस्थल नजिकै राखिएको छ । अन्य तीन वटा मानवीय सहायतास्थल परिचालनको दृष्टिले विभिन्न जिल्लालाई पायक पर्ने र परिचालनमा सहज हुने गरी स्थानमा राखिएको मन्त्रालयले जनाएको छ । rss
प्रतिक्रिया