शनिबार, जेठ ५, २०८१

कुरिलो खेतीप्रति आकर्षण बढ्दो

नेपालखोज २०८० असार २१ गते १६:१५

गल्याङ । पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।

जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ ।

यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ । भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि दर्ता गरेर कुरिलो खेती सुरु गरेका थिए । उनको खेती अहिले फस्टाउँदै गएको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा कुरिलोसँगै स्टावेरी, मेवालगायत फलफूल पनि लगाउँदै आएका छन् ।

रेग्मीले दैनिक १० किलोभन्दा बढी कुरिलो बिक्री गर्ने गरेको बताए सिजन अनुसार कुरिलोको मूल्यप्रति किलो तीन सयदेखि तीन हजारसम्म पर्ने गर्छ, उनले भने,

हाल रेग्मीको फार्ममा सात जनाले दैनिक रोजगारी पाएका छन् । कुरिलोले मात्र काम नपुग्ने भएपछि स्टावेरी, मेवा, उखु, सुन कागती, खरबुजा, स्याउ, बयर, सुकमेललगायत फलफूल परीक्षणका लागि लगाएको रेग्मीको भनाइ थियो । पुतलीबजार नगरपालिका–१४ की सारदादेवी ढकालले पनि चार वर्षदेखि कुरिलोको व्यावसायिक खेतीगर्दै आएका छन् । नगरपालिकाले दिएको कुरिलो खेतीसम्बन्धी तालिम लिएपछि व्यवसायिक खेती सुरु गरेको उनले बताए । ढकालले सारदा एकीकृत कृषि फार्म दर्ता गरेर साढे तीन सय बोट कुरिलो हुर्काइरहेका थिए ।

प्रतिक्रिया