स्थानीय सरकारलाई सम्पदाको महत्त्व बुझाउन प्रतिवेदन

काठमाडाैं । स्थानीय सरकारलाई सम्पदाको महत्व बुझाउनु स्थानीय तहमा रहेका सम्पदा अनधिकृतरुपमा मास्न थालेपछि पुरातत्व अधिकृत र पुरातत्वविद्सहितको टोलीले ‘सम्पदाको महत्व स्थानीय सरकारलाई पनि बुझाउनु’ भन्दै पुरातत्व विभागलाई प्रतिवेदन बुझाएका छन् । स्थानीय सरकारलाई सम्पदाको महत्व बुझाउनु पर्ने जनाउँदै प्राचीन संरक्षण ऐन २०१३, सम्पदासम्बन्धी वर्तमान ऐन तथा कानुनका बारेमा स्थानीय सरकारलाई पनि जानकारी गराउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा नगरको प्रशासनिक भवन निर्माणका क्रममा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेपछि उक्त मन्दिर क्षेत्रमा विभागको टोलीले यही असार १३ गते अनुगमन गरेको थियो । विभागले अनुगमनपछि स्थानीय सरकारलाई मूर्तिसहित मन्दिर यथास्थानमा मन्दिर निर्माण गर्न निर्देशनसमेत दिइसकेको छ । टोलीद्वारा विभागमा पेस गरिएको प्रतिवेदनमा भनिएको छ, “सम्पदाबारे विद्यमान ऐन, कानुनको जानकारी गराउन गोष्ठी र तालिमको आयोजना गर्न उपयुक्त देखिन्छ ।” टोलीले स्थानीय तहमा रहेका सम्पदा भत्काउनुपूर्व विभागमा जानकारी गराउनु पर्ने जनाएको छ ।
सम्पदा मास्नुपूर्व सहमति लिन जनचेतना, अभिमुखीकरण एवं तालिम गराउनुका साथै परम्परागत शैलीका सम्पदाको संरक्षण गर्न/गराउन टोलीले सुझाव दिएको छ । टोलीको सुझावसहितको प्रतिवेदनपछि विभागले मण्डनदेउपुर नगरपालिकालाई पत्राचार गरी धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाको संरक्षणका लागि जीर्णोद्वार कार्य सञ्चालनपूर्व जानकारी गराउएर मात्रै पुनःनिर्माण गर्न र पुरातात्विक सम्पदा संरक्षण गर्न आग्रह गरेको छ । अनुगमन टोलीमा हनुमानढोका हेरचाह समितिका कार्यकारी प्रमुख सन्दिप खनाल, विभागका पुरातत्वविद् विष्णु पाठकलगायतले नगरले भवन निर्माण गर्दा जबर्जस्ती मन्दिर हटाएको पाइएको उल्लेख गर्नुभएको छ । मन्दिर मुनि भेटिएको उक्त मूर्ति करिब दुई फिट अग्लो छ ।
सत्तरी वर्षअघि निर्माण भएको उक्त मन्दिर भत्काउँदा जमिनमुनि भेटिएको प्राचीन मूर्ति रहेको पुरातत्वविद् पाठकले बताए । उनका अनुसार ऐतिहासिक सम्पदालाई यथास्थानमा राखी निर्र्माण गर्न भनिएको छ । टोलीले अनुगमनका क्रममा करिब छ सयवर्ष पुरानो देवीको मूर्ति फेला पारेको बताइएको छ ।

प्रतिक्रिया