स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सेवाका लागि आवश्यकपर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यकपर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र वितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने बताएका हुन् ।
सो अवसरमा प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले ‘प्रतिष्ठानको रणनीतिक विकास र समावादोन्मुख स्वास्थ्यको लक्ष्य प्राप्तिका निम्ति यस सभाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिँदै सोहीबमोजिम नीति, योजना, कार्यक्रम र कार्यान्वयनको प्रक्रियामा लाग्न’ अपिलसमेत गरे ।
प्रधानमन्त्रीले सो कार्यका लागि यसमा सम्बद्ध सबैले गम्भीर मेहनत र पहलकदमी लिनेमा आफू आशावादी भएको बताए । स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यकपर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र वितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनेमा पनि उहाँले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया