आइतबार, वैशाख २८, २०८२

‘नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक छ’

नेपालखोज २०८० असार २३ गते १८:५८

काठमाडाैं । वरिष्ठ अधिवक्ता डा. रवि खनालले नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । बौद्धिक वृत्त नेपालले आज आयोजना गरेको ‘नेपालमा नागरिकता कानुन र राष्ट्रिय हित विषयक विचार गोष्ठी’मा खनालले नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक स्वार्थबाट माथि रहेर राष्ट्रिय सहमतिमा जानुपर्नेमा जोड दिए ।

विसं २००९ देखि हालसम्म समाधान हुन नसकेको नागरिकता समस्यासम्बन्धी विषयलाई आजको पुस्ताले सच्याउन नसक्ने भन्दै उनले भावी पुस्तालाई समेट्ने गरी सबै एकताबद्ध हुनुपर्ने भनाइ राखे ।

उनले नागरिकताको अवधारणा, नागरिकता प्रदान गर्ने आधार, नेपालमा राजनीतिक परिवर्तन र कानुनको प्रभाव, नागरिकतासम्बन्धी गरिएका संवैधानिक व्यवस्थामाथि विश्लेषण गर्दै आमा र बाबुको संयुक्त नामबाट नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ मा देखिएका विवाद विषयलाई प्रष्ट्याउँदै उनले मुलुकको खुला सिमानालाई मध्यनजर गरी ऐन कठोर बनाउन आवश्यक रहेको बताए ।

त्यस्तै वरिष्ठ अधिवक्ता हर्क रावलले नेपालमा नागरिकता कानुन राष्ट्रिय हित अनुकूल नबनेको बताए । विज्ञहरूको उपस्थिति रहेको गोष्ठीमा आमाको अधिकारलाई शिरोधार्य गर्नुपर्ने, सत्य र न्यायको खोजीमा सबै एकीकृत हुनुपर्नेमा जोड दिइएको थियो । विज्ञहरुले हतारमा प्रमाणीकरण भएको नागिरकताले मूलवासी नेपाली अल्पमतमा पर्न सक्ने तथा अङ्गीकृत नागरिकता लिनेको सङ्ख्या बढ्न सक्नेतर्फ सचेत गराउनुभएको थियो ।

उनीहरुले अध्ययन र अनुसन्धानका आधारमा वैज्ञानिक मापदण्ड निर्धारण गरी नागरिकता बनाइनुपर्ने, यसको औचित्यलाई आत्मसात् गर्नुपर्ने र भविष्यपरक भई निर्णय गर्नुपर्नेलगायतका विषय उठान गरेका थिए ।

प्रतिक्रिया