कथा मितेरी पुलको

हजारौँ वर्ष देखि सम्बन्ध रहँदै आएको नेपाल र चीनबिच २०१२ साउन १७ गते कूटनीतिक सम्बन्ध स्थापना भए पछि पहिलो पटक चिनिया उच्च पदस्थको रूपमा उप प्रधानमन्त्री उलान्हु, राजा महेन्द्रको शुभ राज्याभिषेकमा पाहुना भएर २०१३ को वैशाखमा आएका थिए ।
२०१३ को माघमा चीनिया प्रधानमन्त्री चाउ एन लाई नेपाल भ्रमणमा आएका थिए । यस बिच चीनले तिब्बतलाई आफ्नो एक राज्यको रुपमा समाहित गर्न सफल भयो । यता नेपालमा पनि आमचुनाव पछि प्रजातान्त्रिक सरकारको गठन भयो । साथै सरकार प्रमुखको हैसियतले बिपी कोइरालाले २०१६ को चैत्रमा चीन भ्रमण गरेका थिए ।
चीनिया पक्षले नेपालमा बिभिन्न सहयोगको इच्छा देखाएको थियो । २०१८ असोज १९ मा राजा महेन्द्र र चीनिया समकक्षी राष्ट्रपति ल्यु शाआची द्वारा सीमा तथा मैत्री सन्धी भएको १० दिन पछि नेपालका परराष्ट्र मन्त्री तुलसी गिरी र चीनिया बिदेश मन्त्री चेन ई ले कोदारी राजमार्ग निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए ।
नेपाल र चीन बिचको यस सम्झौताको भारतले बिरोध गर्न थाल्यो । राजा महेन्द्र, नेहरुबाट त्रसित थिएनन् । त्यसैले राजा महेन्द्रले ूनेपालमा साम्यवाद ट्याक्सी चढेर आउँदैनू भन्दै हस्यौली पारामा जवाफ दिएका थिए । सम्झौता अनुरुप २०१९ असार १७ मा कोदारी राजमार्गको निर्माण शुरु भयो ।
चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर बिभिन्न अवरोधले पाँच वर्ष लाग्यो । राजमार्ग निर्माणको कठिन क्षेत्रमा गोप्य रुपमा चीनिया सेनाको सहयोग लिइएको थियो । करिव ५०० चीनिया सैनिकहरुको नेतृत्व लेफ्टिनेन्ट कर्णेल लि ले गरेका थिए । भारतको विरोधको सम्भावनालाई देखेर सैनिक परिचालनको सम्झौता राजा महेन्द्र र माओ विच गोप्य राखिएको थियो ।
नेपाली सरकारी स्तरमा पनि यसको जानकारी दिइएको थिएन । चीनिया सैनिकहरुको सुरक्षार्थ तथा निगरानीमा दरवारका विश्वासिला मेजरहरुको कमाण्डमा नेपाली सेना निर्माण स्थलको १०० मीटर दुरीमा क्याम्प बनाएर बस्दथे ।
यसको रहस्योद्घाटन निकै वर्ष पछि पूर्व चीनिया राजदुत चेङ सुयोंगबाट ‘You and Us: Stories of China and Nepal ‘मा उल्लेख गरेका थिए । यस पुस्तकमा चीन नेपाल सम्बन्धको विषयमा १६ चीनिया कुटनीतिज्ञ तथा सात नेपाली लेखकका लेखहरु समावेश गरिएको छ । सुयोंग राजमार्ग निर्माणको समय चीनिया सेनाका कमाण्डर लेफ्टिनेन्ट कर्णेल लि का दोभाषेको रुपमा कार्यरत थिए ।
यसरी २०१९ मा निर्माण थालनी भएर २०२४ सालमा तैयार भएको राजमार्ग निर्माणको क्रममा १२ चीनिया सैनिकले ज्यान गुमाएका थिए । करिव ३५ लाख पाउण्ड खर्च भएको यस राजमार्गको उद्घाटन राजा महेन्द्रले २०२४ सालको असारमा गर्दा भक्तपुरमा भव्य समारोह गरिएको थियो । चीनिया पक्षले राजमार्ग सम्पन्न भएको अवसरमा भव्य भोजको ब्यबस्था गरेको थियो ।
यहाँ राखिएको तस्विर कोदारी राजमार्गको अन्तिम बिन्दु चीनिया सिमाना रहेको भोटेकोशी माथी बनेको पुलको हो । राजमार्ग बन्नु अगाडिसम्म काठको मुढा तेर्स्याइएको एकजना मात्र हिड्न मिल्ने थियो । पुल तैयार भए पछि मानिस हिड्न दाँया बाँयाको भाग । बिचमा गाडीको लागी छुट्ट्याइएको थियो ।
Concrete arch deck डिजाइनमा बनाइएको पुल बनिसकेपछि चीनिया प्राविधिकले Yǒuyì zhī qiáo नाम राखे । यसको नेपाली नामको लागी चेङ सुयोंगलाई सोधियो । उनले तत्कालै नेपाली नाम भने मितेरी पुलू, यहि नाम नै अन्तिम टुंगो लाग्यो ।
ठूला ठूला अक्षरले चीनियाँ भाषा र नेपाली भाषामा पुलको नाम लेखियो । यसरी यस पुल मितेरी पुलकै नामले नै प्रख्यात भयो । पुलको तस्विर नजिकबाट खिच्न नदिइने हुँदा टाढाबाट तस्विर खिचिएको थियो ।
प्रतिक्रिया